Logo

सुदूर सरकारको दाबी पेश गर्न दलहरुबीच रसाकस्सी, रेशम-रञ्जिता फ्याक्टरमध्ये कसले मार्ला बाजी ?



काठमाडौं, २ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेश गर्न दलहरुबीच रसाकस्सी सुरु भएको छ । प्रदेश प्रमुखले दाबी पेश गर्न दिएको समय सकिन केही घण्टामात्रै बाँकी रहँदै गर्दा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का रेशम चौधरी पक्षधरहरु मिलेर सरकारको दाबी पेश गर्ने तयारीसमेत थालिएको छ ।

कांग्रेसको उक्त तयारी थाहा पाएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झस्किएका छन् । आज विहानमात्रै ओली, प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच नाउपाको नेतृत्वमा सुदूर सरकारमा दाबी पेश गर्ने सहमति भएको थियो । त्यसको केही समय नबित्दै रेशम पक्षधर र एकीकृत समाजवादीले कांग्रेससहितको गठबन्धनलाई समर्थन गर्न खोजेपछि ओली–प्रचण्ड आकस्मिक छलफलमा जुटेका छन् ।

सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धन दुवैले मुख्यमन्त्रीमा नाउपाका सांसदलाई अगाडि सारेका छन् । सत्तारुढ गठबन्धनबाट रञ्जिताले कैलाश चौधरीलाई अगाडि सारेकी छन् । त्यस्तै, कांग्रेसहितको प्रतिपक्षी गठबन्धनले नाउपाकै सांसद लक्ष्मण किशोर चौधरीलाई अगाडि सारेको छ ।

कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेपाली कांग्रेसका १८ जना सांसद छन् । त्यसैगरी माओवादीको सभामुखसति ११ जना, एमालेको १० जना, नाउपाको ७ जना, एकीकृत समाजवादीको ४ जना र स्वतन्त्र सांसद १ जना छन् ।



प्रतिक्रिया दिनुहोस्