काठमाडौं, २ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् । चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादी र आफू आवद्ध पार्टी नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेताको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
उनले आफूलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ४ सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुख नजीर मियाँसमक्ष पेश गरेका छन् । कूल ५३ सदस्यी प्रदेश सभामा अहिले ५१ जनामात्रै कायम रहेको छ । मुख्यमन्त्रीको दाबीका लागि २६ सांसद्को समर्थन आवश्यक पर्छ ।
मुख्यमन्त्रीमा नियुक्तिको माग गर्दै प्रदेश प्रमुख मियाँसमक्ष चौधरीले पेश गरेको दाबी पत्रमा कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले आफ्ना १८ जना सांसदको समर्थन रहेको भनी हस्ताक्षर गरेका छन् । त्यसैगरी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीका ७ जना सांसदको समर्थन रहेको भन्दै हस्ताक्षर गरेका छन् भने एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले समेत आफ्नो दलका ४ सांसदको समर्थन गरेको भनी पत्रमा हस्ताक्षर गरेका छन् ।