Logo

कोशीका मुख्यमन्त्रीले बहुमतको समर्थन गुमाइसक्नु भयो, मार्ग प्रशस्त गर्नुपर्छः प्रदीप ज्ञवाली



काठमाडौं, २ वैशाख । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बहुमतको समर्थन गुमाइसकेको दाबी गरेका छन् । आज (आइतबार) बसेको केन्द्रीय सचिवालयको ३१औं बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले माओवादी र एमालेसँग प्रष्ट बहुमत रहेको र मुख्यमन्त्री कार्कीले बहुमतको समर्थन गुमाइसकेको बताएका हुन् । उनले अब मार्ग प्रशस्त गर्दा नै राम्रो हुने उपमहासचिव ज्ञवालीको भनाइ छ । ‘कोशीको हकमा स्वभाविक रुपले उहाँले बहुमतको समर्थन गुमाउनु भएको छ । प्रष्ट रुपले त्यहाँ बहुमत नेकपा (एमाले) र माओवादी केन्द्रको तर्फबाट प्रस्तुत गरिएको छ । प्रष्ट बहुमत छ,’– उनले भने ।

नेता ज्ञवालीले कोशीका मुख्यमन्त्री कार्कीले मार्ग प्रशस्त नगरे गल्ती हुने उनको भनाइ छ । मुख्यमन्त्री कार्कीलाई प्रदेश सभा विघटन गर्ने अथवा मध्यावधिमा जाने अधिकार नरहेको बताए । सर्वोच्च अदालतले यसअघि नै सरकार बन्ने विकल्प रहेसम्म संसद् विघटन गर्न नपाइने गरी व्याख्या गरिसकेको उनले स्मरण गराए । अहिले कोशीमा एमाले–माओवादीको सरकार बन्ने प्रष्ट रहेकाले मुख्यमन्त्री कार्कीले मार्ग प्रशस्त गर्दा नै राम्रो हुने बताए ।

‘२०७८ साल असार २८ गते सर्वोच्च अदालतले जे परमादेश जारी गर्यो, त्यतिबेला केपी शर्मा ओलीले गर्नु भएको प्रतिनिधि सभा विघटनमा जुन नजीर बसाल्यो, संसद्बाट सरकार बन्ने विकल्प बाँकी रहेसम्म मध्यावधिमा जान अथवा सदन विघटन हुन सक्दैन भन्ने व्याख्या सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको छ । त्यो पनि त्यहाँ लागू हुन्छ ।’ उनले भने, ‘वैकल्पिक सरकार बन्ने प्रष्ट भएको हुनाले राम्रो यही हुन्छ कि मुख्यमन्त्रीजीले त्यो भन्दा अगावै मार्ग प्रशस्त गरिदिनुस् । गर्नु भएन भने त्यो उहाँको गल्ती हुनेछ ।’



प्रतिक्रिया दिनुहोस्