Logo

सुदूरपश्चिममा केन्द्रमा भएको सहमतिअनुसार सरकार बन्नेमा एमाले ढुक्क



काठमाडौं, २ वैशाख । नेकपा (एमाले) ले सुदूरपश्चिममा सत्तारुढ गठबन्धन दलमा भएको सहमतिअनुसार नै सरकार बन्ने बताएको छ । आज (आइतबार) बसेको एमालेको केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरु केन्द्रकै सहमतिअनुसार सरकार बन्नेमा विश्वस्त रहेको बताएका हुन् । अहिले नागरिक उन्मुक्ति पार्टीमा केही समस्या देखिएकाले सुदूर सरकार गठनमा प्रश्नहरु उब्जिएको उनले बताए ।

‘नागरिक उन्मुक्ति पार्टीभित्र केही–केही समस्याहरु देखियो । त्यसको प्रतिविम्ब हो भन्ने मलाई लाग्छ । केही कानुनी प्रश्नहरु पनि खडा भएका छन् । संसदीय दलको नेता को हो भन्ने कुराको वैधानिकता निर्क्यौल गर्नुपर्ने होला ।’ उनले भने, ‘दुवै तर्फबाट दाबी प्रस्तुत भएको छ । सम्भवतः प्रदेश प्रमुखले त्यससँग सम्बन्धित कानुनी जिज्ञासाहरु पनि लिनुहुन्छ । मलाई विश्वास छ, केन्द्रमा जुन सत्ता सहकार्य भएको छ, त्यही अनुरुपकै त्यहाँ प्रदेश सरकार बन्छ । मुख्यमन्त्री त्यसैगरी आउनुहुन्छ ।’

साथै, माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेताहरुले कुनै सहमति गरेको भएपनि केन्द्रका नेताहरुको निर्देशनपछि सच्चिएर अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई नेताले दुई पक्षबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । एमाले–माओवादीसहितको गठबन्धनको तर्फबाट कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनी पार्टी अध्यक्ष रञ्जिता चौधरी पक्षधर हुन् ।

त्यस्तै, नाउपाका संरक्षक रेशमलाल चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरीले कांग्रेससहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । दुई पक्षले नै दाबी पेश गरेकाले प्रदेश प्रमुखले अहिलेसम्म मुख्यमन्त्री नियुक्त गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot