काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्को चालू अधिवेशन अन्त्य गरेर सरकारले गैरजिम्मेवार, गैरजवाफदेही र अनैतिक काम गरेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले कांग्रेसको कारण देखाउँदै संसद्को चालु अधिवेशन अन्त्य गरेर आफ्नै गालामा झापड हानेको दाबी गरे । सरकारको उक्त कामको इतिहासले मूल्याङ्कन गर्ने उनको भनाइ छ ।
‘सरकारले हामीलाई झापड हान्यो कि आफ्नै गालामा हान्यो ? त्यो इतिहासले मूल्याङ्कन गर्ला । तर, आज सरकारले अलोकतान्त्रिक, असंवैधानिक, असंसदीय, अराजनीतिक र अनैतिक ढंगले संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गर्यो । त्यसले यो सरकार के रहेछ भन्ने कुरा देखिइराखेको छ,’– उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता छ भन्ने कुरामा सदनका सबै सदस्यहरुको एकमत रहेको उनको दाबी छ । नेता लेखकले गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि गर्ने यथेष्ट र पर्याप्त प्रमाण रहेको दाबी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका गृहमन्त्री लामिछानेको सहकारी ठगी पुष्टि गर्ने पर्याप्त प्रमाण रहेकाले नै सरकार भागेको उनको दाबी छ ।
े
‘लाखौं मानिसको रकम सहकारीमा जम्मा भएका छन् । त्यसमा अर्बौं रुपैयाँको अपचलन, दुरुपयोग, हिनामिना र ठगी भएका छन् भन्ने कुरामा सदनमा सबैका धारणा एक भइुसकेको थियो । सहकारीको ठगीमा बहालवाला मन्त्री पनि सहभागी छ । यथेष्ट प्रमाण छन्, पर्याप्त प्रमाण छन् । त्यस कारण सरकार भागेको हो,’– उनले भने ।