Logo

ओली-प्रचण्डभन्दा पनि लोकतन्त्रमा विश्वास गर्नेसँग सहकार्य गर्छौंः मेटमणि चौधरी



काठमाडौं, ३ वैशाख । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले अब मुलुकको राजनीतिक कोर्ष नयाँ तरिकाले अगाडि बढ्ने दाबी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यथास्थितिमै बसिरहँदा मुलुकमा राजनीतिक स्थायित्व नहुने निश्चित भएकाले नयाँ कोर्षमा मुलुकको राजनीति जान आवश्यक रहेको बताएका हुन् । उनले त्यसका लागि आफूहरुले सुदूरपश्चिमबाट विद्रोह सुरु गरिसकेको बताए ।

‘यो तरिकाले मुलुकमा राजनीतिक स्थायित्व हुन नसक्ने सम्भावना र सधैभरी मुलुकमा राजनीतिक गोलचक्कर भइराख्ने भयो । सरकार ढाल्ने, बिगार्ने काममा मात्रै सांसदहरु लागिराख्नुपर्ने भएको कारणले निकासको जरुरी थियो । जसको कारणले विद्रोह भयो । अब फरक प्रकारको कोर्षमा मुलुक प्रवेश गर्दैछ भन्ने कुरा सबै जनताले बुझ्नुपर्छ,’– नेता चौधरीले भने ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीको नाममा मुलुकलाई स्थायित्व दिन नसक्ने उनको दाबी छ । नेता चौधरीले ओली–प्रचण्डको राजनीति आफ्नो कुर्सी, आफूलाई जोगाइराख्ने, आफू केन्द्रित र सत्ता स्वार्थ केन्द्रित रहेको दाबी गरे । उनले अब ओली–प्रचण्डभन्दा लोकतन्त्र र प्रजातन्त्रप्रति सिरियस रहेको पार्टीसँग सहकार्य गर्ने बताए । ‘अलि लोकतन्त्रमा विश्वास गर्ने, प्रजातन्त्रमा विश्वास गर्ने, अलि गम्भीर प्रकारका राजनीतिक दलहरुसँगको राजनीतिक समीकरण बन्नुपर्ने थियो, हामी त्यो दिशातर्फ अगाडि बढेका छौं,’– उनले भने ।

प्रचण्ड–ओलीले एकीकृत समाजवादीलाई बागमती वा सुदूरपश्चिममध्ये एउटा प्रदेशमा मुख्यमन्त्री दिने सहमति गरेपनि त्यो सहमति पालना नगरेको उनको भनाइ छ । उनले यस विषयमा प्रचण्ड–ओली दुवै नेताहरु सिरियस नभएको बताए । उनले हिजो (आइतबार) बालुवाटारमा सत्तारुढ शीर्ष नेताहरुको बैठक बहिस्कार गरेर बाहिरिएको स्मरण गराउँदै भने, ‘हामी सत्ता प्राप्तिको लागि भर्याङ बन्दिन पर्ने, संख्या पुर्याइदिन पर्ने तर हामीलाई सधैंभरी अपहेलना गरिराख्ने, सधैंभरी सिमान्तकृत गरिराख्ने, उनीहरुलाई चाहीँ हामीले संख्या पुर्याइदिनु पर्ने मनोविज्ञानको कारणले हामीले हिजोको बालुवाटारको बैठकबाट बाहिर निस्कियौं ।’



प्रतिक्रिया दिनुहोस्