Logo

कैलाश चौधरीले साथ नदिएर केही फरक पर्दैन, प्रदेश सभामा र संसदीय दलमा मसँग स्पष्ट बहुमत छः लक्ष्मण चौधरी



काठमाडौं, ३ वैशाख । नागरिक उन्मुक्ति पार्टीका नेता एवं सुदूरश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले आफू मुख्यमन्त्री बन्नेमा कुनै आशंका नै नरहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रदेश सभामा र संसदीय दलमा आफ्नो स्पष्ट बहुमत भएकाले आफू मुख्यमन्त्री बन्ने दाबी गरेका हुन् । नेता चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका कैलाश चौधरीले आफूलाई समर्थन नगरे पनि कुनै फरक नपर्ने बताए ।

उनले भने,‘उहाँ (कैलाश) ले साथ नदिएर के हुन्छ त ? बहुमत मसँग छ । त्यसमा केही फरक पर्दैन । सुदूरपश्चिम प्रदेश सभामा मसँग अहिले बहुमत छ । संसदीय दलमा पनि बहुमत छ । हामी सात जनामा पाँच जना मसँग हुनुहुन्छ । विधि र प्रक्रियालाई मानेर जाने हो भने मुख्यमन्त्री बन्नेमा कुनै डाउट नै छैन । यो प्रदेश प्रमुखले चाहेर अथवा नचाहेर बन्ने कुरा होईन ।’

साथै, आफूले सबै विधि र प्रक्रिया पूरा गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेको भएपनि प्रदेश प्रमुखले नियुक्त नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । आफूलाई यसरी मुख्यमन्त्री नियुक्त नगरिएकोमा अचम्म लागेको उनले सुनाए । नाउपा, नेपाली कांग्रेस र एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलले मुख्यमन्त्रीमा आफूलाई सिफारिस गरेको भन्दै उनले दाबीमा सबै विधि र प्रक्रिया पुगेको जिकिर गरे । ‘दुई वा दुईभन्दा बढी दलको समर्थनमा हामीले सरकार गठनका लागि पेश गर्नुपर्छ भन्ने थियो । त्यही प्रक्रियालाई टेकेर सम्पूर्ण डकुमेन्ट पूरा गर्दा पनि मलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गरिएन । मलाई पनि अचम्म लागेको छ । प्रदेश सरकार भनेको संसदीय दलको कार्यालय र सांसदबाट चल्छ । संसदीय दलले मलाई सिफारिस गरेको थियो,’– उनले भने ।

साथै, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीले चाहेर प्रदेशको मुख्यमन्त्री बनाउन र नबनाउन सम्भव नरहेको उनको दाबी छ । पार्टी कुनै अमुक व्यक्तिको दाइजो अथवा पेवा हुन नहुने र विधि र पद्धति सबैले मान्नुपर्ने उनले बताए ।

‘यो संघीय संसद् होईन, यो पार्टी कार्यालय पनि होईन । यो भनेको सुदूरपश्चिम प्रदेश सरकार हो । यसमा बहुमत जसले शिद्ध गर्न सक्छ, उसलाई नै मुख्यमन्त्रीमा नियुक्त गरिने हो । पार्टी कुनै अमुक व्यक्तिको लागिमात्रै खोलिएको हो र ? पार्टी कसैको घर हो र ? पार्टी र प्रदेश सरकार कसैको पेवा र दाइजो हुनै सक्दैन ।’ नेता चौधरीले भने, ‘मुख्यमन्त्री रेशम चौधरी अथवा रञ्जिता चौधरीले नियुक्त गर्ने होईन । मुख्यमन्त्री नियुक्त गर्नका लागि संसदीय दलको सिफारिसमा माननीयको नाम जान्छ । संसदीय दलको नाम सिफारिस गर्दै गर्दाखेरी एउटै पदका लागि दुई जना हुँदाखेरी पहिलो कुरा सहमतिमा टुङ्ग्याउनु पर्छ । सहमति भएन भने बहुमतीय प्रणालीमा टुङ्ग्याउन पर्छ । यसमा रेशम र रञ्जिता भन्ने कुरै आउँदैन ।’

सबै डकुमेन्ट पूरा गरेर मुख्यमन्त्रीमा दाबी पेश गर्दा पनि समस्या आएको खण्डमा अन्य उपचार खोज्नेसमेत उनले बताए । ‘हामीले सबै डकुमेन्ट पूरा गरेर जाँदा पनि समस्या आउँछ भने त्यसको उपचार गर्ने अरु बाटो पनि छ । संसदीय दलका नेताहरुकै समर्थनमा मैले दाबी पेश गरेको हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्