Logo

प्रचण्ड–ओलीसँग असन्तुष्ट माधव नेपाल देउवासँग नरम



काठमाडौं, ३ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिमबाट सत्तारुढ गठबन्धन दलविरुद्ध विद्रोह सुरु गरेको छ । एमाले–माओवादीसहितको गठबन्धनमा ढिलो गरी सहभागी भएको दल नेकपा (एस) सहमति कार्यान्वयन नभएपछि सबैभन्दा पहिला विद्रोह सुरु गरेको हो ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको सरकार गठनमा नेपाली कांग्रेससहितको गठबन्धनलाई सघाइएको छ । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमति कार्यान्वयनमा इमानदार नहुँदा विद्रोहको बाटो अबलम्बन गर्नुपरेको एकीकृत समाजवादीको निश्कर्ष छ । ओली–प्रचण्डले बागमती वा सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेर पनि कार्यान्वयन नभएको नेता मेटमणि चौधरीले बताए ।

ओली–प्रचण्ड सहमति कार्यान्वयनमा इमानदार नभएकाले अब केन्द्रमा पनि सरकारबाट बाहिरिएर अर्को गठबन्धन बनाउने तयारी रहेको नेता चौधरीको भनाइ छ । नेता चौधरीले सुदूरपश्चिमबाट विद्रोह सुरु भएको र अब केन्द्रसमम्म नै यसको असर देखिने दाबी गरे । उनले आफूहरुसहित जनता समाजवादी पार्टीले पनि सरकार छाड्ने तयारी गरेको खुलासा गरे । अब नेपाली कांग्रेससहितको सरकार बन्ने उनको दाबी छ । नेता चौधरीले माओवादी–एमालेभन्दा पनि बढी लोकतान्त्रिक शक्तिसँग मिलेर सरकार बनाउने तयारी रहेको बताए ।

आफूहरु प्रचण्ड–ओलीबाहेक पनि सरकार बनाउन सक्ने ठाउँमा रहेको दाबी गरे । उनले परिस्थिति मिलेको खण्डमा पार्टी अध्यक्ष माधव नेपाल आफैं प्रधानमन्त्री बन्ने पनि उद्घोष गरे । ‘प्रचण्ड–ओली बाहेक पनि सरकार बनाउन सक्ने ठाउँमा हामी छौं । परिस्थिति मिल्यो भने देशको प्रधानमन्त्री माधव नेपाल अबको केही दिनमा, केही हप्तामा प्रधानमन्त्री बन्नसक्ने सम्भावना देखेको छु मैले । ओली आलिकती पावरफूल हुनेवित्तिकै मुलुक संसद् विघटनको कोर्षमा अगाडि बढ्छ । यो विषयमा सबै राजनीतिक दल सिरियस छौं । माधव नेपाललाई प्रधानमन्त्री बनाएपछि मात्रै हामी त्यो ठाउँमा पुग्छौं भन्ने कुरा सबै दलको बुझाइ छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्