Logo

माधव नेपाल भएसम्म ओलीजीको मनपरीतन्त्रको विरोध भइरहन्छः जगन्नाथ खतिवडा (भिडिओसहित)



काठमाडौं, ४ वैशाख । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफूहरुको भागमा पार्छौं भनेर सत्तारुढ गठबन्धन दलका नेताहरुले ढाँटेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्व सहमतिअनुसार एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्री पाउनुपर्ने बताए ।

साथै, उनले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कडा शब्दमा आलोचना गरे । केपी ओली राष्ट्रिय आत्मसमर्पणवादी, दक्षिणपन्थी अवसरवादमा चुर्लुम्मै डुबेकाले विद्रोह गरेर पार्टी छाडेको समेत बताए ।

‘राष्ट्रिय आत्मसमर्पणवादी, दक्षिणपन्थी अवसरवादमा चुर्लुम्मै डुबेको, कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने दिशातिर लगेको केपी ओलीको नेतृत्वले भनेर त्यो पार्टी छोडेर हामीले विद्रोह गरेको हो ।’ उनले भने, ‘नेकपा (एकीकृत समाजवादी) को भागमा सुदूरपश्चिममा मुख्यमन्त्री पद पर्छ, पार्छौं, हुन्छ भनेर सहमति गरेर अन्तिम बेलामा हुँदैन, पर्दैन, गरिँदैन भनेर भन्ने यो ढाँटेको हामीले होईन ।’

साथै, माधव नेपाल भएसम्म ओलीको मनपरीतन्त्रको विरोध भइरहने उनको भनाइ छ । उनले भने, ‘माधव नेपाल भएसम्म ओलीजीको मनपरीतन्त्रको विरोध भइरहन्छ । उहाँको सर्वसत्तावादी सोचको विरोध भइरहन्छ । माधव नेपाल विरोध गरिरहनु हुन्छ । त्यस कारण उहाँलाई अप्ठ्यारो लाग्यो होला ।’

गठबन्धनमा सबै दलको समान हैसियत रहेको उनको दाबी छ । उनले आफूहरुले थोरै सिट भएकाले एक प्रदेशको मुख्यमन्त्री माग गर्दा पहिला सहमति जनाएर अहिले कार्यान्वयन नगरेको उनले बताए । अप्ठ्यारो परेको बेला ओलीले माधव नेपालको घरमै आएर ‘ गल्ती भएछ माफ पाऊँ’ भनेर भनेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्