Logo

‘रवि लामिछानेले मेरो नाम त हो तर आरोपपत्रमा गृहमन्त्री उल्लेख छैन भनेर कड्किन बेर छैन’



काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभराज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानविन समिति नबनाएर गलत गरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब ‘मेरो नाम त रवि लामिछाने हो तर गृहमन्त्री भनेर आरोप पत्रमा उल्लेख भएको छैन’ भनेर कड्किन बेर नलगाउने उनको भनाइ छ ।

‘सरकारले यो सरासर गलत गर्यो । कुन दिन गृहमन्त्रीले मेरो नाम रवि लामिछाने त हो तर गृहमन्त्री भनेर कहाँ लेखेको छ ? भनेर उहाँ कड्किन बेर लगाउनुहुन्न । गृहमन्त्री भनेको छ त्यो भनेर कड्किनु भयो भने पुग्छ । नेपाली कांग्रेसले संसद्मा बारम्बार उठाइराखेको के हो भने सहकारी ठगी केशमा नेपालमा को–को मुछिएका छन्, निश्पक्ष छानविन समिति बनाऔं, त्यसमा रविजीकै पार्टीको मान्छे राखौंला । फेरि त्यो मान्छे ठगीमा नलागेको होस्,’– उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रायः सबै नेताहरु सहकारी ठगी प्रकरणमा मुछिएको उनको आरोप छ । नेता खतिवडाले रास्वपाका उपसभापति, सहमहामन्त्री र रवि लामिछानेकी श्रीमती निकितासमेत सहकारी ठगीमा मुछिएको उनको दाबी छ । साथै, सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड रुपैयाँ लिएको पुष्टि भएको उनले बताए ।

‘उहाँको त पार्टीको उपसभापति, श्रीमती, सहमहामन्त्री सबै लागेका छन् । पोखरा, नेपालगञ्ज, चितवन र विरगञ्जको सहकारीमात्र होईन भैरहवाको सुप्रिम सहकारीबाट रवि लामिछानेले कर्जा वापत दुई करोड लिएको, चार लाख रुपैयाँ कटाएर एक करोड ९६ लाख रुपैया लिएको देखिन्छ । यति गर्दा पनि मेरो होईन भनेर उहाँ भनिरहनु भएको छ । करोडौं रुपैयाँ गोर्खा मिडियामा गएको छ । गृह मन्त्रालयमै बस्नुपर्ने कारण आज देखियो,’– उनले भने ।

नेता खतिवडाले सुप्रिम सहकारीबाट रवि लामिछानेको नाममा पैसा जम्मा गर्ने व्यक्ति पक्राउ पर्दा खातामा पैसा आएको व्यक्तिसँग सोधपुछसमेत नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्