Logo

माओवादी नेता बिडारीको रविलक्षित टिप्पणीः ‘यो देश सप्रे यही देशमा, यो देश बिग्रे विदेशमा’ मज्जाको जिन्दगी भएकालाई जनताले भोट दिए



काठमाडौं, ४ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले जनताले चुनावमा सही मानिसलाई मतदान गर्न नजानेको आरोप लगाएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले त्याग, तपस्या, बलिदान, दृष्टिकोण, विचारलाई भोट दिन नजानेको बताए । नेता बिडारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै टेलिभिजनका कराउनेलाई भोट दिएर गलत गरेको दाबी गरे ।

‘अहिले दोहोरो घरबार भएका, नेपालमा पनि घरबार भएको, विदेशमा पनि घरबार भएको । दोहोरो नागरिकता भएका, दोहोरो राहदानी भएका, दोहोरो प्रकारको सम्बन्ध भएका, ‘यो देश सप्रे यही देशमा, यो देश बिग्रे विदेशमा’ यस्तो मज्जाको जिन्दगी भएका मान्छेलाई जनताले भोट हाल्दिएपछि परेन त आपत ? मैले हालेको हो र ? भोट हाल्नेले बोक्नुपर्यो दोष,’– उनले भने ।

जनताले भोट हाल्न नजान्दाको परिणाम अहिले देशमा अराजक स्थिति बढ्दै गएको उनको आरोप छ । जनताले भोट हाल्न नजानेकै कारण सबैभन्दा ठूला कालाबजारीयाहरु चुनाव जितेर आउने गरेको उनले बताए । उनले चुनावमा जनताले न्याय गर्न सक्नुपर्ने बताए । ‘चुनावमा न्याय जनताले गर्ने, राजनीतिमा सेवा प्रतिनिधिले गर्ने, नगर्ने प्रतिनिधिलाई जनताले बदल्ने यो हो डेमोक्रेशी भनेको,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot