Logo

सुदूरको मुख्यमन्त्रीका लागि परेको दुवै दाबी अस्वीकृत, पुनः दाबी पेश गर्न आह्वान



काठमाडौं, ४ वैशाख । सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले मुख्यमन्त्रीका लागि परेको दाबी अस्वीकृत गरेका छन् । आज (मंगलबार) दुबै जनाको दाबी नपुगेको निश्कर्षसहित उनले पुनः मुख्यमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दुई दिनको समय सीमा दिएर आह्वान गरेका छन् ।

सुदूर सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टीका दुई नेताले दाबी पेश गरेका थिए । नाउपा अध्यक्ष रञ्जिता चौधरी पक्षधर मानिएका कैलाश चौधरीले एमाले, माओवादी र आफ्नो पार्टीको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।

त्यस्तै, नाउपा संरक्षक रेशमलाल चौधरी पक्षधर मानिने नेता लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र आफ्नो दलको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए । दुई वटा दाबी परेपछि प्रदेश प्रमुखले दाबी पेश भएको दुई दिनसम्म कसैलाई पनि मुख्यमन्त्रीमा नियुक्त गरेका थिएनन् ।

प्रदेश प्रमुख मियाँले दुवै पक्षको दाबीको सन्दर्भमा निश्कर्षमा पुग्न नसकिएको भन्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर २ दिनभित्र दाबी पेश गर्न आह्वान गरेका छन् । आगामी वैशाख ६ गते बेलुका ५ बजेसम्मको समय सीमा दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्