Logo

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि गरेर देखाउन सांसद् कार्कीको चुनौती



काठमाडौं, ५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. चन्दा कार्कीले पार्टी सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथिको सहकारी ठगी आरोप पुष्टि गरेर देखाउन चुनौति दिएकी छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आरोप लाग्दैनमा गृहमन्त्रीले राजीनामा नदिने भन्दै आरोप पुष्टि गरेर देखाउन भनेकी हुन् । उनले आरोप लाग्दैमा राजीनामा दिँदै जाने हो भने सदननै खाली हुने उनको टिप्पणी छ । अरु दलका नेताहरु भन्दा रास्वपाका नेताहरुमा धेरै नैतिकता भएको दाबी गर्दै उनले आरोप पुष्टि गरेर देखाए गृहमन्त्री लामिछानेलाई राजीनामा दिन कसैले भन्नै नपर्ने उनको भनाइ छ ।

‘आरोपले मात्रै राजीनामा दिन पर्ने भएत हाम्रो सदन नै खाली हुन्छ । आरोप यहाँ धेरैलाई लागेका छन् । प्रमाणित भयो भने राजीनामा त कसैले भन्नै पर्दैन । हामी आफैं नै दिने हो । त्यति नैतिकता त हामीमा अरुभन्दा धेरै छ,’– उनले भनिन् ।

साथै, उनले प्रहरी प्रमुख वसन्त कुँवरले प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएर गृहमन्त्री लामिछानेका विरुद्धमा सहकारी ठगीमा संलग्नता पुष्टि हुने कुनै प्रमाण नदेखिएको प्रष्ट पारिसकेको बताईन् । उनले भनिन्, ‘प्रमाण भए त प्रमाणित गरे भइहाल्यो नि । मेरो जानकारीमा वसन्त कुँवर (प्रहरी प्रमुख) ले राज्य व्यवस्था समितिमा उहाँको विरुद्धमा गर्नुपर्ने केही छैन भनेर भन्नु भएको छ । हाम्रो प्रष्ट कुरा के हो भने आरोप लाग्दैमा राजीनामा दिन पर्दैन । प्रमाणित गरेर कसैले देखाउँछ भने कसैले भन्नै नपर्ने कुरा हो ।’



प्रतिक्रिया दिनुहोस्