Logo

विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री



काठमाडौं, ५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका छन् । उनले वैशाख ७ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी रहेको बताइएको छ । विश्वासको मत लिने प्रयोजनार्थ प्रदेश सभाको बैठक आह्वान गर्न गण्डकी सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरिसकेको छ ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरिरहँदा उनको नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइको मिति पनि नजिकिँदै गएको छ । प्रदेश सभाका सभामुखसमेतको समर्थनमा बुहमत पुर्याएर सरकार गठन गरिएको भन्दै सर्वोच्चमा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रदेश सरकारको नाममा आदेश जारी भएको थियो । प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश गरिएको भएपनि मुख्यमन्त्री अधिकारीले मुख्यन्याधिवक्ता र प्रदेश योजना आयोगको उपाध्यक्ष नियुक्त गरिसकेका छन् ।

मुख्यमन्त्री नियुक्तिलाई लिएर परेको रिटमा आगामी वैशाख १० गते पेशी तोकिएको छ । उक्त मुद्दाको सुनुवाइ अगावै उनले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री अधिकारीले आज (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सल्लाहसमेत लिएका छन् । भेटवार्तामा प्रदेश सरकारलाई कसरी अगाडि बढाउने भन्ने छलफल भएको स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्