Logo

एमाले-माओवादीले दर्ता गराएको संकल्प प्रस्ताव पेश हुन नसक्ने मुख्यमन्त्री कार्कीको दाबी



काठमाडौं, ५ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमाले–माओवादीले आफूविरुद्ध दर्ता गराएको संकल्प प्रस्ताव पेश हुन नसक्ने दाबी गरेका छन् । आज (बुधबार) मुख्यमन्त्री कार्कीले प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टलाई पत्र पठाएर सचिवालयमा दर्ता भएको संकल्प प्रस्ताव संविधानको भावना विपरीत रहेको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट बहुमत सांसदहरुको समर्थन गुमाइसकेको भन्दै एमाले–माओवादीका सांसदले उनीविरुद्ध संकल्प प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने एमाले–माओवादीका सांसदहरुको निश्कर्ष छ ।

संकल्प प्रताव नेपालको संविधानको धारा १९१, धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश तथा कोशी प्रदेश सभा नियमावली २०७४ को नियम ४८ (क), (ख), (ग) र (घ) विरुद्ध रहेको मुख्यमन्त्री कार्कीको दाबी छ ।

‘संकल्प प्रस्ताव नेपालको संविधान २०७२ को धारा १९१, धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश तथा कोशी प्रदेश सभा नियमावली २०७४ को नियम ४८ (क), (ख), (ग) र (घ) विरुद्ध भई प्रस्तावका रुपमा पेस गर्न नसकिने अवस्था रहेको व्यहोरा जानकारीका लागि सदर अनुरोध छ,’– मुख्यमन्त्री कार्कीले प्रदेश सभाका सभामुखलाई लेखेको पत्रमा भनिएको छ ।

मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त भएका हुन् । उपधारा ५ बमोजिम नियुक्त भएकाले आफूलाई कुनै दलको समर्थन नरहेको र सांसदहरुले व्यक्तिगत रुपमा दिएको समर्थनमा दुई वर्षभन्दा पहिला अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने मुख्यमन्त्री कार्कीको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्