
बैंकक, ५ वैशाख । थाइल्यान्डको नेपाली मन्दिरमा राम नवमीको अवसरमा भगवान राम र सीताको मूर्ति प्राण प्रतिष्ठा गरिएको छ । बैंककको सुकुम्बित ८१ सिरिफोटस्थित अवस्थित श्री त्रिनाथ देवालय धाम मन्दिरमा बुधबार विहान ८ बजेर ४५ मिनेटको शुभ मुर्हतमा पण्डित पदमप्रसाद भट्टराईले भगवान राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति प्राण प्रतिष्ठा गराएका हुन् ।
त्रिनाथ मन्दिरमा पहिलोपटक भगवान रामको प्राण प्रतिष्ठा गरिएको मन्दिर सञ्चालक समितिका महासचिव राजु बलामीले जानकारी दिए । प्राण प्रतिष्ठामा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली सहभागी भएर पूजा पाठ गरेका थिए । राजदूत वलीले नेपाली मन्दिर नेपालीमात्र नभई नेपाल भाषीको पनि आस्थाको केन्द्र रहेको भन्दै संरक्षण तथा प्रवर्द्धनमा सघाउने बताए ।
प्राण प्रतिष्ठासँगै मन्दिरमा रामनवमीका अवसरमा पूजा सत्संघ भजन-कीर्तन पनि गरिएको थियो । हवन तथा आरती पूजा गरिएको कार्यक्रममा आगन्तुक नेपाली तथा थाइ नागरिकलाई खीर प्रसाद वितरण गरिएको थियो । त्रिनाथ देवालय धाम थाइल्यान्डबासी नेपालीको एकमात्र धार्मिक स्थल हो । ३२ वर्षअघि स्थापना भएको मन्दिरमा थाइल्यान्डमा बस्ने नेपालीहरूले विभिन्न चाडपर्व मनाउने, पूजा पाठ गर्दै आएका छन् ।

