Logo

सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय, एमाले भने असन्तुष्ट



काठमाडौं, ५ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिममा दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज (बुधबार) बसेको सचिवालय बैठकले उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

सोडारी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत हुन् । सत्तारुढ दलका नेकपा (एमाले) ले भने सोडारीलाई मुख्यमन्त्री बनाउन नहुने मत अगाडि सारेको छ । एमालेले सोडारीबाहेक जोसुकैलाई पनि मुख्यमन्त्री स्वीकार्न सकिने सन्देश पठाएको बताइएको छ ।

सुदूर सरकारको दाबी पेश गर्न प्रदेश प्रमुख नजीर मियाँले भोलि (बिहीबार) बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका छन् । उनले सरकार गठनका लागि पहिला परेको दाबी अस्वकृत गर्दै पुनः सरकारमा दाबी पेश गर्न आह्वान गरेका हुन् । यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता कैलाश चौधरीले सत्तारुढ दल एमाले, माओवादीसहितको समर्थनमा दाबी पेश गरेका थिए । त्यस्तै, नाउपाकै नेता लक्ष्मणकिशोर चौधरीले कांग्रेस, एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

दुई जनाको दाबी पर्दा निश्कर्षमा पुग्न नसकिएको भन्दै उनले हिजो दुई दिनको समय दिएर सरकारमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्