Logo

अनुहारको आधारमा असली नेपाली खोज्ने मानसिकता परिवर्तन हुनुपर्छः राजेन्द्र महतो (भिडिओसहित)



काठमाडौं, ५ वैशाख । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोद्वारा लिखित पुस्तक ‘अधुरा क्रान्ति’ विमोचन भएको छ । आज (बुधबार) काठमाडौंमा आयोजित एक समारोहबीच उनको उक्त पुस्तक विमोचन गरिएको हो । पूर्व मन्त्री महतले आफ्नो उक्त पुस्तकमा २०७२ को संविधानले मधेशको आवाजलाई समेट्न नसकेको दाबी गरेका छन् । मधेशमा सदियौंदेखि उठेको विद्रोहका आवाजहरू संविधान जारी गर्ने बेला सँघारमै छुटेको उनको दाबी छ । त्यसैको परिणाम स्वरुप मधेश आन्दोलन भएको उनले पुस्तकमा उल्लेख गरेका छन् ।

साथै, मधेशको माटोमा उठेको पहिचानको आवाजलाई सिंहदरबारको सत्ताले बिटुल्याउन हरसम्भव प्रयास गरेको उनको टिप्पणी छ । मधेश परिवर्तनका हरेक आन्दोलनमा सर्वदा अग्रभागमा आफ्ना हक, अधिकार र न्यायको लडाइँमा लडेपनि अन्ततः एक्लो पारिएको उनको बुझाइ छ ।

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महतोले मधेशका नेपालीहरुलाई सधै भारतीयको दृष्टिकोणले हेरिएको भन्दै आपत्ति जनाए । सच्चा नेपाली अनुहारको आधारमा खोज्न नहुने उनको भनाइ छ । ‘भारतीय नै भन्दियो भने के फरक पर्छ ? भन्नलाई त केही फरक पर्दैैन । तर, यसरी मिल्दैन । यो अनैतिक काम हो । आफ्नै देशको नागरिकलाई होच्याउने, उसको राष्ट्रियतामाथि प्रश्न उठाउने, विदेशी करार गर्ने यी सवालहरु हुन सक्दैन । यो मानसिकतामा परिवर्तन हुनैपर्छं । सच्चा नेपाली, असली नेपाली अनुहारको आधारमा खोज्ने होईन,’– उनले भने ।

नेपाल एकल राज्य हुन नसक्ने उनको दाबी छ । शासकहरुले आफूहरुको अधिकार र पहिचान मेटाउन खोजेको उनको भनाइ छ । ‘यहाँ जबरजस्ती ढंगले नेपाल चलाउन खोजियो । अप्राकृतिक ढंगले नेपालको साशान बनाउने र चलाउने काम गरियो,’– उनले भने ।

उनले नश्लीय प्रभावको आधारमा नेपालको संविधान र शासन व्यवस्था लागू गरिएको बताए । दुनियाँकै उत्कृष्ट संविधान बनायौं भन्ने नेताहरुले नश्लीय चिन्तनबाट बाहिर निस्कन नसकेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्