Logo

दीर्घ सोडारीले आज पनि मुख्यमन्त्रीमा दाबी पेश गर्न सकेनन्, कारण एमाले



काठमाडौं, ५ वैशाख । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीले आज पनि मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गर्न सकेनन् । प्रदेश प्रमुख नजीर मियाँले हिजो (मंगलबार) दुई दिनको समय दिएर सरकारमा दाबी पेश गर्न पुनः दलहरुलाई आह्वान गरेका थिए । सत्तारुढ गठबन्धन दलमा प्रष्ट बहुमत हुँदा पनि एमालेका कारण एकीकृत समाजवादीका नेता सोडारीले दाबी पेश गर्न नसकेका हुन् ।

एमालेले सदूरपश्चिममा अहिलेसम्म दीर्घ सोडारीलाई समर्थन गर्ने वा नगर्ने कुनै निर्णय गरेको छैन । स्रोतका अनुसार एमालेले सोडारीबाहेकका जोसुकैलाई पनि मुख्यमन्त्रीमा समर्थन गर्न सकिने तर, उनलाई मुख्यमन्त्री बनाउन नहुने अडान लिएको बताइएको छ । अहिले एमालेले केन्द्रीय नेतृत्वको निर्देशन नै नरहेको बताउँदै आएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली आज इमालतिर छन् । इलामबाट फर्किएपछि उनी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सुदूर सरकार गठनका बारेमा छलफल हुने बताइएको छ ।

प्रदेश प्रमुखले आह्वान गरेअनुसार बुधबार बिहान एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसद संयुक्त बैठक बसेर आज दिउँसो दाबी पेश गर्ने प्रयास गरिएको भएपनि एमालेका कारण आज त्यो सम्भव नभएको बताइएको छ । प्रदेश प्रमुख मियाँले सरकार गठनका लागि आह्वान गरेको समय सीमा भोलि बेलुका ५ बजेसम्म सकिँदै छ ।



प्रतिक्रिया दिनुहोस्