Logo

वैकल्पिक गठबन्धनको चक्करमा माधव नेपाल, देउवासँग गोप्य भेटवार्ता



काठमाडौं,६ वैशाख । सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि विलम्ब देखिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ गठबन्धनका लागि प्रयास थालेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले बुधबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । कांग्रेस नेता नारायण खड्काको निवासमा देउवा र नेपालबीच गोप्य भेटवार्ता भएको स्रोतले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्दैछन्। तर नेकपा एमालेले उनलाई समर्थन गरिसकेको छैन।

बुधबारको भेटमा सोहीबारे छलफल भएको स्रोतको भनाई छ । सत्ता गठबन्धनमा उलटफेर आएपछि विचलित बनेका देउवा जसरी भएपनि गठबन्धन भत्काउने प्रयासमा छन् । उनले भेटमा नेपाललाई सुदूरमा मिलेर सरकार बनाउन प्रस्ताव गरेको कांग्रेस निकट स्रोतको दाबी छ । जवाफमा देउवालाई नेपालले पनि एमालेले सोडारीलाई अस्वीकार गरेमा कांग्रेससँग मिल्नसक्ने बताएका छन् ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले प्रदेश संसदीय दलका नेता समेत रहेका सोडारीलाई मुख्यमन्त्रीका लागि अघि सार्ने बुधवार निर्णय गरेको थियो । तर,, नेकपा एमालेले सोडारीको विकल्प खोज्नुपर्ने भन्दै उनको साटो अरू सदस्य भए मात्र समर्थन गरेर मुख्यमन्त्री बनाउन सकिने भन्दै आलटाल गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले वैशाख २ गतेसम्मको समय दिएर दलहरुलाई बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए। सो अवधिमा मुख्यमन्त्री पाउने भनिएको नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका थिए । कैलाशले एमाले-माओवादी गठबन्धन र लक्ष्मणले कांग्रेससँग मिलेर दाबी पेश गरेका थिए । एउटै पार्टीका २ सांसदले दाबी पेश गरेपछि प्रदेश प्रमुखले दुबै दाबी अस्वीकार गर्दै फेरि दाबी पेश गर्न २ दिनको समय दिएका थिए । जुन आज सकिँदैछ ।



प्रतिक्रिया दिनुहोस्