Logo

२ बजेसम्म एमालेले निर्णय नदिए एकीकृत समाजवादीले वैकल्पिक गठबन्धन पुनः ब्युँताउने



काठमाडौं,६ वैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित नेकपा एकीकृत समाजवादीका दिर्घ सोडारीलाई समर्थन गर्ने नगर्नेबारे निर्णय गर्न नेकपा एमालेलाई एकीकृत समाजवादीे २ बजेसम्मको अल्टिमेटम दिएको छ ।

सुदूरमा नयाँ सरकारमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदैछ । तर, मुख्यमन्त्री पाएको एकीकृत समाजवादीले सोडारीले प्रस्ताव गरेपछि एमालेले त्यसमा असन्तुष्टि जनाईरहेको छ । सोडारी विगतमा निक्कै विवादमा तानिएका पात्र हुन् । ०७४ सालको प्रदेश सभा निर्वाचनपछि तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारमा सामाजिक विकास मन्त्री रहँदा उनी निक्कै विवादमा आएका थिए ।

मन्त्री रहँदाकै अवस्थामा उनी सवार गाडीले यात्रुलाई ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका थिए । सोडारी मन्त्री रहँदै एक अडियो काण्डमा पनि फसेका थिए । विभिन्न विवादमा फसेपछि उनलाई मुख्यमन्त्री भट्टले पदबाट हटाएका थिए । सोही कारण एमालेले उनलाई मुख्यमन्त्री बनाउन आनाकानी गरेको हो ।

यता समाजवादी निकट स्रोतका अनुसार एमालेले समाजवादीलाई सहयोग नगरेको अवस्थामा कांग्रेस, नागरिक उन्मुक्ति पार्टीसहितको वैकल्पिक गठबन्धनलाई पुनः ब्युँताएर अगाडि बढ्ने तयारी भएको छ ।

वैकल्पिक गठबन्धन बनाउने प्रयासमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी दल नेपाली कमंग्रेसका सभापति शेबहादुर देउवाबीच बुधबार राती गोप्य भेटवार्ता भएको थियो । सो भेटमा पनि देउवाले नेपालसँग सुदूरमा मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए । सुदूर देउवाको गृह प्रदेश हो ।

सुदूरमा यसअघि एकीकृत समाजवादी, नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्ष मिलेर नयाँ गठबन्धन बनाएका थिए । सो गठबन्धनबाट मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीले मदाबी पनि पेश गरेका थिए । तर, पछि नाउपाकै कैलाश चौधरीले एमाले माओवादीसँग मिलेर मुख्यमन्त्री दाबी पेश गरेका थिए ।

एउटै दलका २ जनाले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुख नाजिर मियाले दुवै दाबी अस्वीकृत गर्दै पुन नयाँ दाबी पेश गर्न आजसम्मको समय दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot