Logo

सरकारबाट बाहिरिने चेतावनीपछि लुम्बिनीमा एकीकृत समाजवादीकी अधिकारी पनि मन्त्री नियुक्त



काठमाडौं,६ वैशाख । ६ जना बिना विभागीय मन्त्री नियुक्त गरेको एक घण्टापनि नपुग्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेकपा एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीलाई पनि मन्त्री नियुक्त गरेका छन् ।

बिहीबार बिहान एमालेका ४, नाउपा र स्वतन्त्र एक गरि ६ जनालाई महराले मन्त्री नियुक्त गरेका थिए । बिहानसम्म एकीकृत समाजवादीलाई तत्काल सरकारमा सामेल नगराउने पक्षमा रहेका महराले एकाएक मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्यालय निकट स्रोतका अनुसार एकीकृत समाजवादीले तत्काल मन्त्री नियुक्त नगरे सरकार छाड्ने चेतावनी दिएपछि उनलाई मन्त्री नियुक्त गरिएको हो । लुम्बिनीमा एकीकृत समाजवादीको एक सीट मात्र रहेको छ ।

२२ चैतमा सत्ता गठबन्धनका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच ७ बुँदे सहमतिमा जनता समाजवादी पार्टीलाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति थियो ।

तर, बिहीबारको सरकार विस्तारमा आफ्नो दल छुटेको भन्दै समाजवादीले आपत्ति जनाएको थियो । नवनियुक्त बिना विभागीय मन्त्रीहरुको शपथ आजै साँझ ५ बजेका लागि तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्