Logo

कांग्रेससँग मिल्ने माधवको ‘धम्की’पछि एमाले ‘ब्याक’, गठबन्धनबाटै सोडारीले मुख्यमन्त्रीको दाबी पेश गर्ने



काठमाडौं,६ वैशाख । सुदूरपश्चिम प्रदेश सरकार गठनबारे देखिएको सकस तत्कालका लागि हट्ने भएको छ । मुख्यमन्त्रीका दाबी पेश गर्न लागेका नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई एमालेले समर्थन जनाएपछि कुरा मिलेको हो ।

एमालेको समर्थनमा उनले अहिले केहीबेरमा प्रदेश प्रमुख नजिर मियासामू दाबी पेश गर्ने भएका छन् । उनलाई एमालेसहित माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संस्थापन पक्षले समर्थन गर्नेछ ।

एमालेले सोडारीलाई समर्थन गर्न सुरुमा अनिच्छा देखाए पनि गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको नेताहरूले बताएका छन्।

सुदूरको मुख्यमन्त्री एकीकृत समाजवादीले पाएपछि सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, एमालेले उनी पटक पटक विवादमा परेको व्यक्ति भन्दै पात्र फेर्न आग्रह गरेको थियो । सोडारीको विषयलाई लिएर एमालेले आनाकानी गरेपछि एकीकृत समाजवादीले वैकल्पिक गठबन्धन बनाउने प्रयाससमेत गरेको थियो ।

वैकल्पिक गठबन्धनको प्रयासस्वरुप एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुधबार राती गोप्य भेटवार्ता गरेका थिए । सो भेटमा पनि एमालेले सोडारीलाई स्वीकार नगरे दुई दल मिलेन जाने बारेमा छलफल भएको थियो । स्रोतका अनुसार एमालेले नमानेमा देउवाले सोडारीलाई मुख्यमन्त्री बनाउन कांग्रेस तयार रहेकोबारे विश्वस्त पारेका थिए ।

देउवासँगको भेटपछि एमालेले मुख्यमन्त्रीलाई समर्थन नगरे सत्ता गठबन्धन छाड्ने धम्की नेपालले दिएका थिए । सत्ता गठबन्धन फेरिएपछि अध्यक्ष नेपालको मन भने देउवा र कांग्रेससितै रहेको देखिन्छ । उनले कांग्रेसले वैकल्पिक गठबन्धन बनाएमा आफ्नो दलले समर्थन गर्ने पनि विश्वास दिलाएको स्रोतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot