Logo

कर्णालीमा यामलालको एकल शासन



काठमाडौं,८ वैशाख । लामो समयको छलफल, विवाद र रस्साकस्सीलाई छिचोलेर विकट कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएको १२ दिन पूरा हुँदा पनि सत्ताका सारथीहरुलाई मनाउन नसक्दा मुख्यमन्त्री यामलाल कँडेलले तीव्र आलोचना झेल्नुपरिरहेको छ ।

चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले सत्ता साझेदार दलहरुलाई मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका छैनन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका एमाले प्रदेश संसदीय दलका नेता कँडेल राजनीतिमा चतुर खेलाडी मानिन्छन् । पार्टीले एकल बहुमत ल्याउँदा मुख्यमन्त्री बन्न नसकेका कँडेल पार्टी तेस्रो स्थानमा झरेपछि भने मुख्यमन्त्री बन्न सफल भएका तर, सरकार विस्तार गर्न नसक्दा आलोचना खेप्नुपरिरहेको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डाको कुरा नमिल्दा कँडेलले मन्त्रिपरिष् विस्तार गर्न सकेका छैनन् । सत्ताको नेतृत्व छाडेको माओवादीले रोजेका ४ मन्त्रालयसहित सभामुख पद मागेपछि कँडेल अप्ठ्यारोमा परेका छन् । कर्णालीमा ८ मन्त्रालय रहेको छ । माओवादीले भने अर्थ, सामाजिक, उद्योग र उर्जा तथा जलस्रोत मन्त्रायलमा दाबी गरिरहेको छ ।

यता कँडेल भने रोजेका तीन मन्त्रालय दिन तयार भएपनि सामाजिक विकास भने आफैसँग राख्न चाहान्छन् । सामाजिक विकास मन्त्रालय अन्य मन्त्रालय भन्दा महत्वपूर्ण मन्त्रालय मानिन्छ ।

त्यसोत मुख्यमन्त्रीको शपथ लिएकै दिन एक जनालाई भएपनि विना विभागीइ मन्त्रीको शपथ गराउने कँडेलको इच्छा थियो । उनले सोही अनुरुप माओवादी केन्द्रका संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मासँग छलफल पनि गरेका थिए । तर, शर्माले मन्त्रायलमा भागबन्डा मिलेपछि एकैपटक मन्त्री पठाउने अडान लिएपछि कँडेल ब्याक भएका हुन् ।

यता सरकार विस्तारमा उल्झन देखिएपछि कँडेल र शर्मा दुवै नेता काठमाडौंमा आएका छन् । कँडेलले प्रधानमन्त्री तथा माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर सरकार विस्तारको गाँठो फुकाईदिन आग्रह गरेका थिए । उनले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेको एमाले स्रोतले जनाएको छ ।

प्रतिपक्षीले भन्यो: सरकारको राम्रो चाल देखिएन

यता सरकार विस्तारमा भईरहेको ढिलाईप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि असन्तुष्ट देखिएको छ । अघिल्लो साता बसेको प्रदेश सभाको बैठकमै कांग्रेस प्रदेश संसदीय दलका उपनेता हिक्मत विष्टले सत्तारुढ दलहरुको वेमेलले राम्रो सन्देश नदिएको जिकिर गरेका थिए । उनले शर्मा र कँडेलबीचको असमझदारी राम्रो संकेत नभएको बताएका थिए ।

यता गठबन्धनमा सहजता पैदा गर्नुको सट्टा सबै शक्ति आफू केन्द्रित गर्ने कँडेलको चाहनाका कारण नै सरकार विस्तारमा ढिलाइ भइरहेको माओवादी नेताहरूको आरोप छ ।

सत्ताको नेतृत्वकर्ता दल एमालेले भने मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने बताउँदै आएको छ । कँडेलले यसै साता विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी र एमालेको मात्रै मत पाउँदा पनि सहजरुपमा विश्वासको मत पाउने कँडेललाई एकीकृत समाजवादीले पनि समर्थन गरेको छ । कर्णालीमा समाजवादीकी एक सांसद रहेकी छन् ।

यता सरकारलाई पूर्णता दिनुको साटो काठमाडौं लागेको भन्दै उनका आलोचकहरुले भने कर्णालीमा यामलालको एकल शासन भन्दै टिप्पणी गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्