Logo

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन: केपी ओली



काठमाडौँ, ८ वैशाख । नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

आजदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले भने “गत महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी हालको सहज परिस्थितिमा रहेको हो । ”

ओलीले ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा विकास, समृद्धि र सुशासनको अभिभारा पूरा गर्न मुलुकमा एमालेको नेतृत्व  आवश्यकता रहेको जनभावना प्रकट भएको दाबी गरे। उनले भने,‘ राष्ट्रिय हित र स्वाभिमानकाे सम्बर्द्धन गर्न, लोकतन्त्रको रक्षा र विकास गर्न, सामाजिक सद्भाव कायम गर्न, मुलुकमा विकास, समृद्धि र सुशासनको अभिभारा पूरा गर्न एमालेको नेतृत्व अपरिहार्य रहेका आवश्यकता रहेको जनभावना प्रकट भएको छ। ’

एमाले महाधिवेशन परिषद्को बैठक आजबाट सुरु भएको हो । ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गरेका छन् । महाधिवेशन पछिको दोस्रो ठूलो निकायका रुपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ । बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन् । बैठक भोलिसम्म सञ्चालन हुनेछ । 



प्रतिक्रिया दिनुहोस्