Logo

उपसचिव नपाएपछि हरिनास गाउँपालिका अध्यक्ष मानन्धरद्धारा एमाले परित्यागको घोषणा



काठमाडौं,९ वैशाख । स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले पार्टी परित्यागेको घोषणा गरेका छन् ।

हालै सम्पन्न एमालेको जिल्ला अधिवेशनमा चुनाव हारेका हरुवाहरुलाई पदाधिकारी बनाइएको भन्दै असन्तुष्टि जनाउँदै मानन्धरले पार्टी र गाउँपालिका अध्यक्ष पद दुवै त्याग्ने घोषणा गरेका हुन् । मानन्धर जिल्ला अधिवेशनमा उपसचिवको आकांक्षी रहेका थिए । तर, सर्वसम्मतको नाममा आफ्नो नाम काटिएको भन्दै उनी असन्तुष्ट थिए ।

मानन्धर २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका नेता हुन् । उनी हाल हरिनास गाउँपालिकाको एमाले गाउँ कमिटीको अध्यक्ष पनि हुन् ।

उनले आफूजस्ताको योगदानको अवमूल्यन भएको जिकिर गरेका छन् । ‘२०७४ पछि एक हजार जतिलाई पार्टी प्रवेश गराएर दोस्रोपटक चुनावमा गठबन्धनलाई पराजित गरी जितेको मजस्ता ठेट्नाहरूको पार्टीमा कुनै स्थान र मूल्यांकन नरहेका कारणले मलाई यो पार्टीमा बसिरहन मन लागेन,’ उनले लेखेका छन् ।

उनले आफूले कुनै पार्टीको कार्यक्रममा नजाने र सदस्यता नलिने उद्घोष गरेका छन् । एमाले सचिव पद्मा अर्याल र पूर्व प्रतिनिधिसभा सदस्य र २०७९ मा पराजित नारायण मरासिनीले गोजीबाट निकालेर जिल्ला कमिटीमा पदाधिकारी छानेको मानन्धरको आरोप छ । गत २३ चैतमा भएको एमाले स्याङ्जाको अधिवेशनमा अध्यक्षमा सूर्य गैरे (पारस) सहित पदाधिकारी सर्वसम्मत चयन भएका थिए ।



प्रतिक्रिया दिनुहोस्