Logo

तरुण अध्यक्षको ठोकुवाः सुहाङ र रविले इलामको विकासलाई निकास दिन सक्दैनन्



काठमाडौं, ९ वैशाख । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आगामी वैशाख १५ मा इलाम-२ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई जिताउने गरी लागिपर्न मातहतको निकायहरुलाई निर्देशन दिएका छन् । उपनिर्वाचन सन्दर्भमा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस उम्मेदवार खड्काको पक्षमा चुनावी परिणाम आउने गरी चुनावी अभियानमा लाग्न निर्देशन दिएका हुन् ।

साथै, उनले काङ्ग्रेस उम्मेदवार खड्कालार्इ जिताउन जिल्लामा खटिएको तरुणहरुसँग पछिल्लो अवस्थाको जानकारीसमेत लिएका थिए । तरुण दल इलामका अध्यक्ष नरेश श्रेष्ठ र निर्वाचन क्षेत्रका ४२ वडामा खटिएका तरुण संयोजकहरुले अध्यक्ष गुरुङलाई चुनावी परिणाम काङ्ग्रेसको पक्षमा आउने विश्वास दिलाए ।

साथै, अध्यक्ष गुरुङले कांग्रेसको मत बाँडिनसक्ने परिस्थितिलाई पनि ख्याल गर्न निर्देशन दिए । अध्यक्ष गुरुङले अरु कुनै पनि पार्टीले इलामको विकासलाई निश्चित विन्दुमा पुर्पाउन नसक्ने ठोकुवा गरे । कांग्रेस उम्मेदवार खड्कानै इलामको लागि उपयुक्त पात्र रहेको उनको दाबी छ । इलाममा काङ्ग्रेसको जित सुनिश्चित गराउन तरुणहरुको भूमिका प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले विजयको श्रेय पनि तरुणहरुले पाउने विश्वास दिलाए ।

अध्यक्ष गुरुङले कुनै पनि तरुणहरुलाईबहानामा चुनावी परिचालनमा कमि कमजोरीको छुट नभएको बताए । उनले नेकपा (एमाले)ं का उम्मेदवार सुहाङ नेम्वाङतर्फ लक्षित गर्दै विदेशमा बसेर आएको व्यक्तिलाई बाबुको सम्पत्तिमा हक लाग्न सक्ने तर राजनितिक विरासतको रुपमा जनताले अनुमोदन नगर्ने बताए ।

साथै, पछिल्लो समय निकै चर्चामा रहेको सहकारी ठगी प्रकरणको फाइल बन्द गराउन उनले जिवि राइको हत्या हुनसक्ने आशंका व्यक्त गरे । कार्यक्रममा काङ्ग्रेस कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतक गोपाल तामाङ ,प्रदेश सांसद खगेन सिंह हाङाम, तरुण दलका केन्द्रीय सदस्य निरज निरौला, लगायतले आफ्नो भनाइ राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्