Logo

रेशम पक्षका ५ सांसदलाई रञ्जिताको चेतावनी: सांसद पदको माया भए गठबन्धनलाई समर्थन गर्नू



काठमाडौं,९ वैशाख । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीका साथीहरुको कारण मुखमै आएको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री गुमाउनु परेको बताएकी छन् ।

आइतबार कैलालीको धनगडी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेकी श्रेष्ठले पार्टीका केही अन्तरविरोधले गर्दा मुख्यमन्त्री त्यागेको बताएकी हुन् । उनले पार्टी संस्थापन इतर समूहमा रहेका सांसदहरु पनि नयाँ गठबन्धनमा सामेल हुने विश्वास व्यक्त गरेकी छन् ।

सुदूर सरकारलाई लिएर नाउपा विभाजीत बनेको छ । दीर्घ सोडारी नेतृत्वको सरकार बनाउन नाउपाका रञ्जिता निकटका २ सांसदे साथ दिँदा संरक्षक रेशमलाल चौधरी निकटका ५ सांसद भने विपक्षीमा छन् । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा रहने कि बाहिरिने भन्नेबारेमा विवाद भएपछि सुरु भएको नाउपाको किचलो अझै साम्य भएको छैन् ।

यता अध्यक्ष श्रेष्ठले पनि गठबन्धनको विरुद्धमा रहेका ५ जना सांसदलाई नयाँ समीकरणमा सामेल हुन आह्वान गरेकी छन् । उनले अन्यथा पार्टीको कारबाही भोग्न तयार हुन पनि चेतावनी दिएकी छन् । उनले आफ्ना ५ जना सांसदलाई सांसदबाट हट्ने चाहना हो भने आफूले त्यसको स्वागत गर्ने बताइन्। उनले भनिन्, ‘मलाई आशा छ, अझै पनि ५ जना सांसदहरु फर्केर एकै ठाउँमा आउनेछन्। पार्टीको विधान मान्नेछन तर उनीहरुको सांसद पदबाटै हटेर जाने ईच्छा हो भने पनि म उहाँहरुको निर्णयको स्वागत नै गर्छु।’

नाउपाका पूर्व सांसदसमेत रहेका नेता रेशम चौधरी र रञ्जिताबीचको विवादले पार्टी फुटको संघारमा पुगेको छ । सत्ता गठबन्धनमा नाउपालाई मुख्यमन्त्री दिने सहमति थियो । तर, पार्टीमा को मुख्यमन्त्री बन्ने भन्ने विवाद हुँदा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्