Logo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ पदकले सम्मान गर्ने एमालेको निर्णय



काठमाडौं,९ वैशाख । सत्तारुढ दल नेकपा एमालेले पार्टीको ७५ औं स्थापना दिवस (हिरक जयन्ती) महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ ।

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पूर्व पार्टी उपाध्यक्ष भण्डारीलाई सो सम्मान अर्पण गर्न वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले प्रस्ताव प्रस्तुत गरेका थिए। जसमा प्रतिनिधि परिषद् सदस्यहरुले सहमति जनाएका हुन् ।

प्रस्ताव प्रश्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताए ।

‘‘पार्टीका पूर्वउपाध्यक्ष र दुई दुई पटक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यक्ति, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा उहाँले महत्वपूर्ण ढंगले भूमिका खेल्नुभएको, अडान लिनुभएको र हामी सबैको एउटा गौरवको विषय बन्नुभएको, आदरणीय विद्यादेवी भण्डारीलाई हामीले राष्ट्रिय गौरव पदकले सम्मान गर्ने प्रस्ताव यो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट अघि बढाउँ’, पोखरेलले भने ।

एमालेले भोलि आफ्नो पार्टी स्थापनाको ७५ औं वर्षगाँठ धुमधामले मनाउँदैछ । सो अवसरमा सबै पार्टीका शीर्ष नेतालाई निम्तो दिएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा विषेश वक्ताको रुपमा उपस्थित हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्