Logo

स्वतन्त्र देशभक्त राष्ट्रिय मोर्चाको तदर्थ समिति गठन, संयोजकमा घिमिरे



काठमाडौं, १० वैशाख । देशभक्त राष्ट्रिय मोर्चा, नेपाल गठनका लागि दीननाथ घिमिरेको संयोजकत्वमा २५सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । वैशाख ८ गतेदेखि आजसम्म काठमाडौंमा जारी देशभक्तहरुको राष्ट्रिय भेलाले घिमिरेको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी तदर्थ समिति गठनबारे जानकारी गराइएको हो ।

घिमिरेको संयोजकत्वमा रहेको उक्त तदर्थ समितिमा विनोददेव पन्त, डिल्लिराम भण्डारी, रामप्रसाद चौलागाई, परेकबहादुर रावल, सुदर्शन लामिछाने, बिष्णुप्रसाद बास्तोला, टोपबहादुर रोकाय, विश्वनाथ भट्ट, लक्ष्मी सापकोटा, भरत पाण्डे, नेत्रप्रकाश पाण्डेय, रामचन्द्र गुप्ता, राजेन्द्र सहनी, तबहादुर विश्वकमा र श्री डिलबहादुर नाथ सदस्य रहेका छन् ।

देशमुखी एजेण्डाहरुको आधारमा नेपाली जनमत बनाउन, राजनीतिक संघर्ष संचालन गर्न र समान उद्देश्यको निम्ति गठित अन्य अभियान, संगठन र मोर्चाहरुसँग मिली शान्तिपूर्ण जनआन्दोलन विकास गर्न मोर्चा बनाइएको बताइएको छ ।

मोर्चाका संयोजक घिमिरेले देश र जनतालाई जागृत गराउन आवश्यक रहेको बताए । राजनीतिक शक्तिहरु सही नहुँदा देश विभिन्न संकटमा फस्ने गरेको उनको भनाइ छ । उनले महाकाली सन्धि, कोशी सम्झौता, गण्डक सम्झौताले देशको अस्तित्वमाथि संकट ल्याएको उनले बताए । अब सर्वपक्षीय देशभक्तहरु एक हुनुपर्ने समय आएको उनको भनाइ छ ।

मोर्चाका प्रचार सचिव डिल्लीराम भण्डारीले धेरै राजनीतिक परिवर्तन भएपनि त्यसभित्र देश नपरेको टिप्पणी गरे । उनले कुनै पनि परिवर्तन देश र जनताको पक्षमा नभएको दाबी गरे । साथै, अहिले हरेक सूचाङ्कले देश असफलतातिर गइरहेको प्रष्ट देखाइरहेको उनले बताए । यस्तो अवस्थामा देशभक्तहरु चुप लागेर बसेको खण्डमा देश खाडलमा पर्ने उनले बताए ।

‘देशमा राजनीतिक परिवर्तन धेरै भएका छन् । तर, त्यसभित्र देश परेको छैन । कुनै पनि परिवर्तनमा देश र नेपाली जनता नपरेको अवस्थामा हरेक पटकका प्रजातान्त्रिक परिवर्तन पश्चातका राष्ट्रघात र जनविद्रोही कामका कारणले गर्दा मोर्चा निर्माण गर्नैपर्ने अवस्था सिर्जना भएको हो । हरेक मानकमा देश असफलतातिर गइरहेको देख्न सक्नुहुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्