Logo

देउवाको प्रश्नबाट भागे ओली, माओवादी युद्धबारे फेरियो बोली



काठमाडौं, १० वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रश्नबाट तर्किएका छन् । आज (सोमबार) नेकपा (एमाले) ले आयोजना गरेको नेकपाको हीरक महोत्सवलाई सम्बोधन गर्दै सभापति देउवाले तत्कालीन एमालेका महासचिव मदन भण्डारी हत्या प्रकरणबारे प्रश्न उठाएका थिए ।

एमालेले कांग्रेसलाई गाली गर्ने गरेको भन्दै सभापति देउवाले भने,-‘मदन भण्डारी मारेको कुरा किन भन्न सक्दैन ? रहस्यमय ढंगले मारिएको छ । कसले रोकेको छ खोज्नलाई ? कांग्रेसले रोक्या हो ? आफू खोज्न नसक्ने कांग्रेसलाई गाली गरेर हिँड्ने ? ‘हुँदाहुँदा उसको डाइभर पनि मारियो । त्यो पनि पत्ता लागेको छैन ।’

कांग्रेसलाई विरोध गर्न सजिलो भएपनि आफ्ना कुरा भन्न गाह्रो रहेको भन्दै देउवाले कटाक्ष गरे । देउवाले कांग्रेस र आफूलाई गाली गरेर केही नहुने भन्दै मदन भण्डारी हत्याबारे सत्यतथ्य पत्ता लगाउन चुनौति दिए ।

कार्यक्रमलाई लामो सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले देउवाको प्रश्नको स्पष्ट जवाफ दिन चाहेनन् । ‘मेरा पुरानो मित्र हुनुहुन्छ । घरीघरी जोशिनुहुन्छ,’– देउवाले सोधेको प्रश्न स्कीप गर्दै भने ।

ओलीले कम्युनिष्ट पार्टी स्थापनादेखि ०१७ सालको राजनीतिक परिवर्तन, २०५२ सालमा माओवादीले सुरु गरेको सशस्त्र विद्रोह, राजतन्त्रको अन्त्य, दरबार हत्याकाण्डलगायतका महत्वपूर्ण घटनाहरुको स्मरण गरे ।

साथै, यसअघि ओलीले माओवादीको सशस्त्र आन्दोलनलाई हिंसात्मक विद्रोहको संज्ञा दिँदै आएका थिए । तर, आज ओलीले माओवादीको सशस्त्र विद्रोहलाई हिंसात्मक विद्रोह नभनेर ‘सशस्त्र क्रियाकलाप’ भनेर सम्बोधन गरे । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot