Logo

भारतीय दूतावासद्वारा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण



कास्की, १० वैशाख । भारतीय दूतावासले माछापुच्छ्रे गाउँपालिका–२ स्थित माछापुच्छ्रे माध्यमिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत दूतावासले विद्यालयलाई आज उपहार स्वरुप बस प्रदान गरेको हो । नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमित शर्माले एक समारोहका बीच बस हस्तान्तरण गरेका हु्न् ।

विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा सार्वजनिक यातायात नियमित नहुँदा विद्यालय आउजाउ गर्न विद्यार्थीले भोग्नुपरेको कठिनाइ अब समाधान हुने बताए । विद्यालयको आवश्यकता बुझेर बस सहयोग गरेकामा उनले दूतावासप्रति आभार व्यक्त गरे ।

प्रधानाध्यापक आचार्यका अनुसार भराभरी, करुवा, मिर्सा, धिप्राङलगायत टाढाका गाउँबाट पैदल विद्यालय आउन दुई घण्टा बढी समय लाग्ने गर्छ । ती ठाउँमा बस सेवा सञ्चालन गरिने उनले जानकारी दिए । ‘यहाँ चल्ने बसहरु नियमित नहुँदा विद्यार्थीको कक्षा छुट्ने गरेको थियो, त्यो समस्या अब हट्ने छ । हामी आफ्नै बसमा विभिन्न कार्यक्रममा विद्यार्थी लैजान पनि सक्नेछौँ,’– उनले भने ।

सो अवसरमा भारतीय रक्षा सहचारी शर्माले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताए । उनले आगामी दिनमा थप सहयोगको प्रतिबद्धता जनाए । बस सहयोगले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले भारतीय सहयोगप्रति आभार व्यक्त गरे । उनले माछापुच्छ्रे गाउँपालिकाका अन्य विद्यालयमा पनि सहयोगका लागि आग्रह गरे । वडाध्यक्ष गणेश आचार्यले स्कुल बस सुविधाबाट सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष बमबहादुर गुरुङले दूतावासबाट बस प्राप्त गर्नका लागि लामो समयदेखि गरेको प्रयास अहिले सफल भएकोमा खुशी व्यक्त गरे । ‘स्कुल बसका लागि हामीले चार वर्षदेखि पहल गरेका थियौँ । यहाँका भूपू भारतीय सेनाहरुबाट थप पहल भयो र अहिले ल्याउन सफल भएका छौँ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्