Logo

अब देउवा, ओली र प्रचण्ड प्रधानमन्त्री नभएर केही फरक पर्दैनः प्रदीप पौडेल



काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले अब शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नबनेर केही फरक नपर्ने बताएका छन् । आज (मंगलबार) परिवर्तन अभियान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पटक–पटक प्रधानमन्त्री हुने तर देशलाई केही नदिएको पुष्टि हुने हो भने जनताको जीवनमा असर पर्ने बताए । उनले देउवा, ओली र प्रचण्डलाई अब प्रधानमन्त्री बन्ने भन्दा पनि खण्डित भएको राजनीति जोड्ने र अर्थतन्त्र सुधार गर्नेतिर लाग्न आग्रह गरे ।

‘अब मेरा सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नभएर केही फरक पर्दैन । आरदनीय नेता केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री नभएर केही फरक पर्दैन । पुष्पकमल दाहालज्यूलाई प्रधानमन्त्रीबाट हटेर केही फरक पर्दैन । फरक के पर्छ भने बारम्बार प्रधानमन्त्री हुने तर देशलाई केही नदिएको पुष्टि हुने तपाइँको जीवनमा सबैभन्दा ठूलो फरक पर्छ ।’ उनले भने, ‘प्रधानमन्त्री नहुनुस्, तर खण्डित भएको राजनीतिलाई जोडेर देखाइदिनुस् । प्रधानमन्त्री नहुनुस्, नेपालको अर्थतन्त्र ओरालो लागेको छ, त्यसलाई रोकेर उकालो बाटोतिर हिँड्ने होईन, डौडिने बताइदिनुस् । तपाईँलाई प्रधानमन्त्री भएको भन्दा धेरै माथिको उचाइमा नेपाली जनताले पुर्याउँछन् । त्यसकारण आजको राजनीतिक न्यारेटिभ बदल्नका लागि नेतृत्वले आफूलाई बदल्न आवश्यक छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot