Logo

हाम्रो नेपाली पार्टी, लौरो अभियानले इलाम-२ मा डकेन्द्र थेगिमलाई समर्थन गर्ने



काठमाडौं, ११ वैशाख । हाम्रो नेपाली पार्टी, लौरो अभियानले आगामी वैशाख–१५ गते हुन गइरहेको उपनिर्वाचनमा इलाम–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी हाम्रो नेपाली पार्टीले अगामी उपनिर्वाचनमा इलाम–२ मा थेगिमलाई समर्थन गर्ने उद्घोष गरेको हो ।

हाम्रो नेपाली पार्टी, लौरो अभियानका प्रवक्ता रोहन कार्कीले इलाम–२ का लौरो अभियानका शुभचिन्तक र समर्थकलाई मुढा चुनाव चिन्हमा मतदान गर्न अपिल गरे । ‘अहिले हामीले डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने र इलाम क्षेत्र नम्बर २ मा हाम्रो नेपाली पार्टी लौरो अभियानका शुभचिन्तकले मुढा चुनाव चिन्हमा अत्याधिक मत दिएर विजयी गराउने हामीले निर्णय गरेका छौं,’– उनले भने ।

दलहरुले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र देशमा कुशासन कायमै रहेको उनको भनाइ छ । ‘नेपाली कांग्रेस, एमाले र माओवादी हुँदै अहिले केही नयाँ भनिएका दलसम्म आइपुग्दाखेरी राजनीतिक दलहरुमा देखिएका जो कमिकमजोरी थियो, भ्रष्टाचार, कुसशान थियो । त्यो चिज अहिले पनि घटेको अवस्था छैन,’– प्रवक्ता कार्कीले भने ।

आफूहरुले लौरोलाई स्वतन्त्रहरुको छत्रछायाँ बनाउन चाहेको उनको भनाइ छ । उनले आफूहरु दल भर्सेस स्वतन्त्र उम्मेदवारको लडाइँमा रहेको बताए । अहिलेदेखि नै ०८४ को पनि तयारी सुरु भइसकेको उनको भनाइ छ ।

हाम्रो नेपाली पार्टी, लौरो अभियानका केन्द्रीय सदस्य विनोद बजगाईँले स्वतन्त्रहरुलाई नै साथ दिनुपर्छ भन्ने उद्देश्यले थिगिमलाई नै समर्थन गर्ने निर्णय गरेको बताए ।

त्यसैगरी, अधिवक्ता स्वागत नेपालले हाम्रो नेपाली पार्टी, लौरो अभियानले सही समयमा सही निर्णय गरेको भन्दै प्रसंशा गरे । उनले इलाममा हाम्रो नेपाली पार्टीको धेरै शुभचिन्तक रहेको बताए । हाम्रो नेपाली पार्टीले उम्मेदवार थेगिमलाई दिएको समर्थन कोशेढुङ्गा सावित हुने उनको दाबी छ ।
दलका उम्मेदवारलाई जिताएको खण्डमा संसद्मा आएर थपडी बजाउने भन्दा अरु कुनै काम नहुने उनले बताए । साथै, उनले जातजातिका कुरा गर्नेहरुलाई कुजातको संज्ञा दिए । क्षेत्री, ब्रामणहरुले पनि पहिचानवादी थेगिमलाई मतदान गर्नुपर्ने उनको भनाइ छ । एमाले, कांग्रेस र माओवादीले नेपालीको पहिचानमा धावा बोलेको उनको आरोप छ ।

‘क्षेत्री, ब्रामणहरुले हिजो आमा बुबाको किरिया बसेको बेला किरियापुत्रीको मुखमा मासु कोच्याइदिने यिनै एमाले, कांग्रेस र माओवादी हुन् । यिनीहरुले मेरो पहिचानमाथि धावा बोलेका छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot