Logo

नेपाली चिया भारत निर्यातमा समस्या आएपछि एसटीपीका पदाधिकारी काठमाडौंमा, जिटूजी सहजीकरण गरिदिन सरकारलाई अपिल



काठमाडौं, १० वैशाख । इलामको सूर्योदय नगरपालिकामा रहेको सूर्योदय टी प्रोड्युसर एशोसिएशन (एसटीपी) का पदाधिकारीहरुले नेपाली चिया भारत निर्यातमा समस्या आएको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी एसटीपीले आफूहरुको समस्या जानकारी गराउँदै सरकारलाई ध्यानाकार्षण गराएको हो ।

एसटीपीका अध्यक्ष उत्तमकुमार श्रेष्ठले नेपालको चियालाई विषादीयुक्त र गुणस्तरमा कमी रहेको आरोप लगाएर भारतको वेष्ट बङ्गाल सरकारले निर्यातमा विभिन्न प्रोटोकल लागू गरेको बताए । विभिन्न कारण देखाएर भारत सरकारले नेपालको चिया आयत बन्द गर्ने नीति लिएको उनको भनाइ छ । उनले इलाम जिल्लामा उत्पादित चियाको गुणस्तर एकदमै राम्रो रहेको दाबी गरे । इलामबाट चोरी निकासी भएर गएको चिया भारतमा पुगेर ब्राण्डेड हुने र इलाममै बनेको चाहीँ विषादी हुने गरेको उनको भनाइ छ ।

एसटीपीका सचिव गोपाल कट्टेलले भारतमा चिया निर्यातमा सीमा समस्या आइरहेको बताए । पछिल्लो समय भारत सरकारले नेपालबाट जाने चियामा विशेष प्रोटोकल लागू गरेको उनले बताए । उनले पछिल्लो समय नेपालको चिया भारतीय बजारमा जान नसकेको भन्दै सरकारको ध्यानाकार्षण गराए । नेपालको चियाको ९५ प्रतिशत बजार भातर रहेको अवस्थामा पछिल्लो समय नेपाली चियालाई निरुत्साहित गर्ने काम भइरहेको उनको भनाइ छ ।

भारतमा चिया निर्यातमा देखिएको समस्या जिटूजी वार्ता गरेर समाधान खोजिनुपर्ने उनीहरुको माग छ । सरकारले चिया निर्यातमा आएको समस्या बेलैमा सम्बोधन नगरेको खण्डमा चिया किसान र उद्योगलाई नाकारात्मक असर पर्ने बताए । आज बिहानै यस समस्या प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अवगत गराएको उनले भने । साथै, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र केपी शर्मा ओलीलाई पनि चिया किसान र उद्योगमा देखा परेको समस्याबारे जानकारी गराइएको उनले बताए ।

एसटीपीका उपाध्यक्ष अग्निन्द गिरीले चियाको सिजन सुरु हुँदै गर्दा किसान र उद्योगहरु मागमा पर्ने अवस्था आइपरेको बताए । नेपालमा उत्पादित चिया ९५ प्रतिशत भारतमा निर्भर रहेको अवस्थामा यसतर्फ सरकारले विशेष चासोका साथ समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए । भारतले नेपालको चिया लैजादा पहिला–पहिला एक वर्षमा एक पटक चेक गरेर चिया लाने नियम लागू गरेको, त्यसपछि, ६/६ महिना हुँदै ३/३ महिनामा झारेको र अन्ततः होल स्यापलिङ टेस्टको नीति अवलम्बन गरेको उनले बताए ।

अहिले आएर प्रत्येक गाडीको चिया टेस्टका लागि नमूना पठाएर पास भएपछि मात्रै लाने गरेको उनले बताए । टेस्टका लागि लगेको नमुनाको रिपोर्ट १५/२० दिनमा आउँदा आफूहरुलाई घाटा भएको उनले बताए । केही समयअघिसम्म तीन एक पटक टेस्ट गरेपछि तीन महिनासम्म चिया लग्ने नियम रहेको स्मरण गराउँदै उनले ६/६ महिनामा टेस्ट गरेर चिया निर्यात गर्न सकिने वातावरण निर्माण गरिदिन सरकारको ध्यानाकार्षण गराए । उनले चिया वगानहरुमा विषदी पूर्णरुपमा नियन्त्रण भइसकेको उनले दाबी गरे ।

साथै, व्यवसायी सुजन ढुङ्गेलले राज्यले देशको उत्पादनलाई प्रोत्सहान गर्नुपर्ने बताए । नेपाली चियालाई सरल तरिकाले निर्यात हुने वातावरण बनाइदिन उनले सरकारको ध्यानाकार्षण गराए ।



प्रतिक्रिया दिनुहोस्