काठमाडौं, १२ वैशाख । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले प्रणाली सञ्चालनमा देखिएको कमजोरीका कारण पूर्व शासकहरुले मुख मिठ्याउन थालेको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्व शासकहरुमा आशा पाएर मुख मिठ्याए पनि त्यो असम्भव रहेको बताए ।
पूर्व राजा ज्ञानेन्द्र शाहतर्फ लक्षित गर्दै उनले भने, ‘लोकतन्त्रमा आएका केही कमजोरीहरु प्रणाली सञ्चालन गर्ने मामलामा पात्रहरुले देखाएका केही कमजोरीहरुका कारणले अहिले पूर्व शासकहरुमा अलिकति आशा पलाएकोजस्तो, मुख मिठ्याएको जस्तो देखिन्छ । जुन असम्भव कुरा हो ।’
मुलुकमा लोकतन्त्र आएको १८ वर्षको अवधिमा ठूला–ठूला परिवर्तन भएको उनको दाबी छ । तर, जनताको जीवनमा आउनुपर्ने परिवर्तन, लोकतन्त्रले जगाएको सपना र आकांक्षा भने पूरा हुन बाँकी नै रहेको उनले बताए । लोकतन्त्रले नागरिकमा जगाएको सपना पूरा नहुँदा नागरिकमा असन्तुष्टि बढेको उनको ठम्याईँ छ ।