काठमाडौं, १२ वैशाख । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीमा देखिएका समग्र समस्या छानविन गर्न नेपाली कांग्रेसले नमानेको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले कांग्रेसले देशभरीका सहकारीमा देखिएका समस्या छानविनका लागि अस्वीकार गरेर एउटा सहकारीको मात्रै छानविन हुनुपर्छ भनेर संसदीय छानविन समितिको माग गरेको बताएका हुन् ।
उनले भने, ‘हामीले अस्ती कार्य व्यवस्था समितिमा प्रस्ताव राख्यौं–सहकारीमा देखिएका समग्र समस्याको बारेमा छानविनका लागि, किन भने समस्या सुप्रिम भन्नेमा मात्रै होईन । देशभरीका अन्य सहकारीका पीडा चाहीँ पीडा होईन ? जिबी राई को कुरा गर्नुस्, अर्को कसैको कुरा गर्नुस्, जो–जो यसमा संलग्न छन् । उनीहरुमाथि समग्र छानविन गरौं भन्दा कांग्रेस त्यसो गर्न चाहँदैन । अरुमा गर्यो भने आफ्ना मान्छे पर्छन् भनेर तर्किन खोजेको हो । समस्याग्रस्त सहकारीको, हिनामिना भएका सबै सहकारीहरुको छानविनका लागि समिति बनाऊँ भनेको भए हामी दुई हात उठाएर समर्थन गथ्र्यौं ।’
साथै, सहकारीका सञ्चालकहरुले नागरिकको आँसुमाथि खेलबाड गरेर भयङ्कर अपराध गरेको उनको भनाइ छ । सहकारी अपचलन गर्नेहरुलाई पानीमुनी गएपनि छाड्न नहुने उनको भनाइ छ । उनले सहकारीबाट ठगिएका बचतकर्ताका पैसा राज्यको ढुकुटीबाट फिर्ता गर्न नसकिने पनि बताए ।
‘करिब ५० वटाजती सहकारीमा त्यहाँका सञ्चालकहरुले भयङ्क अपराध गरे । नागरिकको आँसुमाथि उनीहरुले खेलवाड गरेका छन् । पानीमुनी गएपनि उनीहरुलाई फर्काएर ल्याएर कारबाही गर्नुपर्छ । बदमासी उनीहरुले गर्ने, पैसा अन्त लगेर लुकाउने अनि सरकारले ढुकुटीबाट दिने भन्ने हुन्छ र ? उनीहरुलाई पाता फर्ककाएर उनीहरुबाटै उठाउने हो । उनीहरुको सम्पत्ति छ, गाडी छ । जग्गामा लगानी छ, टिभीमा लगानी गरेका छन्,’– उनले भने ।