Logo

भन्सार कानुनको लुटकारी प्रावधान हटाउन माग गर्दै आजपाले बुझायो महानिर्देशकलाई सचेतना पत्र



काठमाडौं,११ वैशाख । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले भन्सार विभागका महानिर्देशकलाई सचेतनापत्र बुझाएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित भन्सार विभागमा पुगेर आजपाले भन्सार कानूनमा रहेको लुटकारी प्रावधान हटाउन माग गर्दै सचेतनापत्र बुझाएको हो ।

आजपाले भन्सार कानूनमा रहकेो पुरस्कारसम्बन्धी व्यवस्था हटाउन माग गर्दै विगत लामो समयदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

“भन्सार नियमावलीबाट पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउन, राजस्व सम्बन्धी सम्पूर्ण कानूनमा एकरूपता ल्याउन र भन्सारको नाममा निजी सम्पति लुट्ने काम बन्द गर्न” जस्ता मागहरु सहित भदौ ३१ गते ज्ञापन-पत्र मार्फत सुरू गरिएको चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत जिल्ला जिल्लामा अन्तरक्रिया, नियमावली जलाएको, भन्सार कार्यालय अगाडी प्रदर्शन गरेको, अर्थ विज्ञहरुसंग वृहत अन्तरक्रिया, विशाल मोटरसाइकल र्याली तथा भन्सार विभागमा धर्ना तथा घेराउ लगायतका कार्यक्रमहरु आजपाले गर्दै आएको छ ।

‘हामीले देशको राजस्वसंग सम्बन्धित तथा सिमा क्षेत्रको जनताको भाग्य भविष्य संग जोडिएको समस्याको समाधानका लागि बिगत ८ महिना देखि लगातार आन्दोलन मार्फत विषय उठाई राख्दा सरकार के गरिरहेको छ ? हामी जान्न आतुर छौं’ आजपाले बुझाएको सचेतनापत्रमा भनिएको छ ‘अहिलेको २१ औं शताब्दीको कानूनी शासनको लोकतान्त्रिक युगमा जनताको सरोकार एंव देशको समृद्धिसंग जोडिएको यस्तो विषयमा सरकार मौन बस्नु दुःखद हो । अहिले देशमा बदलिएको सत्ता समिकरण सहितको विकसित परिस्थितिमा सरकारले हाम्रो मागहरुको सम्बोधन गर्नेमा हामी आशावादी छौं’ ।

आजपाले आफ्नो मागहरु तुरुन्तै सम्बोधन नभए वैशाख २० गते देखि अनिश्चितकालिन भन्सार बिभाग घेराउ र धर्ना लगायतका संघर्षका कार्यक्रमहरु अगाडी बढाउन बाध्य हुने पनि जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot