Logo

डिस्कोर्स डबलीद्वारा दुईदिने विचार उत्सव आयोजना, लेखक सिके लालले उद्घाटन गर्ने



काठमाडौं,१२ वैशाख । वैचारिक बहसको मञ्च ‘डिस्कोर्स डबली’ सुरुवातको दश वर्ष पुगेको उपलक्ष्यमा काठमाडौँमा दुई दिने विचार उत्सवको आयोजना हुने भएको छ ।

नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस र विश्वभाषा क्याम्पसमा हुने विचार उत्सवमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले जानकारी दिए ।

दुई दिन सञ्चालन हुने विचार उत्सवमा २० वटा सत्रमा नेपाल र भारतका करिब ८० जना वक्ता सहभागी हुनेछन् । समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण, साहित्य, संगीत, कला, शहरी सौन्दर्य लगायतका दुई दर्जन विषयमा बहस हुनेछ । कार्यक्रममा राजनीतिज्ञ, लेखक,विश्लेषक, प्राध्यापक, कलाकार, कवि, चलचित्र निर्देशक लगायतले आ आफ्नो धाराणा राख्नेछन् ।

कार्यक्रममा लेखक तथा विश्लेषक सिके लालले ‘बौद्धिकताको कसीमा नेपाली समाज’ शीर्षकमा मूल प्रवचन दिने छन् । यस्तै, भारतको बद‌लिँदो राजनीतिबारे दिल्ली विश्वविद्यालयका सह प्राध्यापक तथा विश्लेषक डा। सरोज गिरीले बहस गर्नेछन् ।

उत्सवमा वैचारिक बहसबाहेक नाटक प्रदर्शनी हुने छ । यस्तै, चित्रकला प्रदर्शनी, कार्टुन प्रदर्शनी र सांगितिक उत्सव पनि आयोजना गरिने ढुंगेलले बताए ।

डिस्कोर्स डबली २०७१ सालमा रत्न राज्य क्याम्पस,ल क्याम्पस लगायतका कलेजमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा सुरुवात भएको थियो । यसपछि मासिक रूपमा बहस शृङ्खला यो मञ्चले सञ्चालन गर्दै आएको थियो । दश वर्षमा करिब १०० वटा बहसका कार्यक्रम आयोजना गरिसकिएको डबलीका संस्थापक नरेश रेग्मीले बताए । विश्वविद्यालयमा वैचारिकक अध्ययन र बहसलाई प्रोत्सिहत गर्न ‘विचार उत्सव’ क्याम्पस परिसरमै गर्न लागिएको संयोजक,स्ववियु सभापति ढुंगेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot