Logo

तत्कालीन गृहमन्त्री ओलीले यसरी सम्झिए मनमोहन अधिकारीलाई



काठमाडौं । आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका अग्रज नेता मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ ।

दक्षिण एसियाकै प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीसमेत रहेका उनको स्मरणमा आज नेकपा एमाले लगायतका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गर्दैछन् । अधिकारीको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो भने २०५६ वैशाख १३ गते निधन भएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए ।

अधिकारी सरकारमा गृहमन्त्रीसमेत रहेका नेकपा एमालेका हालका अध्यक्ष केपी शर्मा ओलीले अधिकारीलाई सम्झिँदै उनीप्रति श्रदासुमन अर्पण गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा अधिकारीलाई सम्झँदै ओलीले उनी प्रधानमन्त्री रहँदा आफू गृहमन्त्री रहेको र त्यसबेलामा भए गरेका कामले समृद्ध नेपालको खाका कोरिएको बताएका छन् ।

‘श्रद्धाञ्जली श्रद्धेय मनमोहन अधिकारी । मनमोहन प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ प्रधानमन्त्री भएको बेला म गृहमन्त्री थिएँ। त्यो सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको थियो, । आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम मार्फत गाउँमा विकासको लागि समान रूपमा रकम पठाउन सुरु गरेको थियो’ ओलीले भनेका छन्। ‘त्यसै बेलादेखि त्यही रकम र जनश्रम परिचालन गरेर गाउँगाउँमा सडक, विद्यालय, पुल, स्वास्थ्यचौकी बन्न थालेका थिए। त्यस कार्यकालमा राज्यको तर्फबाट कसैले पनि ज्यान गुमाउनु परेन । हाम्रा उनै नेता तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस । उहाँप्रति श्रद्धा र सम्मान’! ।

नेता अधिकारीको स्मरण गर्दै आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी जीवनगाथाको विमोचन गर्ने कार्यक्रम रहेको छ। साथै ज्येष्ठ नागरिक देश दर्शन २०८१ को शुभारम्भ कार्यक्रम शुरुवात गर्ने कार्यक्रम रहेको छ ।

नेता अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामहरु चर्चित छन् । उनको नेतृत्वको सरकारले वृद्ध भत्ता वितरण गर्न सुरु गरेको थियो भने आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम ल्याएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot