Logo

ओलीको एजेण्डामा प्रचण्ड सहमतः अल्टिमेट गोल ‘सुखी नेपाली, समृद्ध नेपाल’



काठमाडौँ, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कृषिको व्यवसायिकीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६औँ योजना केन्द्रित हुने बताए ।

साथै, आर्थिक समृद्धिको संवाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात् गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुनेगरी योजना तयार हुने विश्वास व्यक्त गरे ।

योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै उनले पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउनका लागि सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा जोड दिए ।

साथै, प्रधानमन्त्री प्रचण्डले आफ्नो अल्टिमेट गोल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको नारा ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा रहेको बताएका छन् । तत्कालीन एमाले सरकारले १५औं पञ्चवर्षीय योजनाको मूल मन्त्रको रुपमा समेटको उक्त नारालाई प्रधानमन्त्री प्रचण्डले अपनत्व ग्रहण गरेका हुन् ।

‘हाम्रो अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो । यसमा विमती हुनुपर्ने कारण छैन । तर, सुखी नेपाली र समृद्ध नेपालमा पुग्नका लागि सुशासन र सामाजिक न्याय अनिवार्य शर्त हो । त्यो प्रक्रियाबाट पुगिन्छ,’– कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot