Logo

हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ, १३ वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका अथक योद्धा रहेको बताएकी छन् ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित मनमोहन अधिकारीको २५औँ स्मृतिसभामा अवसरमा आयोजित कार्यक्रममा उनले मनमोहन अधिकारी समकालीन नेपाली राजनीतिमा एक निष्कलङ्क, सरल एवं निष्ठावान् राजनेता एवं सिङ्गो नेपाली समाजकै एक सम्मानित नेताका रूपमा स्थापित हुनुभएको बताईन् । नेपालमा कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दाअघि नै कम्युनिष्ट पार्टीको सदस्य भइसकेका मनमोहन अधिकारी नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व रहेको उनले बताईन् ।

उनले मनमोहन अधिकारीको सिङ्गो जीवन नयाँपुस्ताका लागि अनिवार्यरूपमा पढ्नै पर्ने खुला किताब जस्तै रहेको उल्लेख गरिन् । “आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन”, उनले भनिन्, “मनमोहन अधिकारीजस्ता पहिलो पुस्ताका नेताहरूमा रहेको उन्नतस्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुल्ला वातावरण पाएका छौँ, स्वतन्त्रता पाएका छौँ । इतिहासका धरोहर मनमोहन अधिकारी हाम्रा लागि सधैँ प्रातःस्मरणीय हुनुहुन्छ र रहिरहनुहुनेछ ।”

विसं २०५१ मा संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्नुभएका मनमोहन अधिकारीको नेतृत्वको सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ र ‘ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता’ जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गरेका थिए ।

सन् १९४२ मा वनारसमा अध्ययनरत छँदै भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भएर आफ्नो राजनीतिक जीवन सुरु गरेका मनमोहन अधिकारी नेपाल फर्केपछि २००३ सालमा भएको विराटनगरको मजदुर आन्दोलनको नेतृत्व गर्दै नेपाली राजनीतिमा मनमोहन अधिकारी क्रियाशील भएका थिए ।

जहानियाँ राणाशासन तथा तानाशाही पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सहभागी हुने सिलसिलामा उनले पटकपटक गरी झण्डै १४ वर्ष लामो जेल जीवन बिताए ।

सोही कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले प्रतिष्ठानले प्रकाशित गरेको पुस्तक ‘मनमोहन अधिकारीको जीवनगाथा’ विमोचन गरेकी थिईन् ।

कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव योगेश भट्टराई र पद्मा अर्याललगायत नेताले मनमोहन अधिकारीको सालिनमा माल्यापर्ण गरेका थिए ।

मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष ज्येष्ठ नागरिकका लागि देश–दर्शन कार्यक्रमको आयोजना गर्दै आएको छ । यस वर्षको ज्येष्ठ नागरिक देश दर्शनमा सहभागी हुने ज्येष्ठ नागरिकलाई पूर्वराष्ट्रपति भण्डारीले माला लगाएर बिदाइ गरिन् । विसं १९७७ जेठ २८ गते जन्मिएका अधिकारीको २०५६ वैशाख १३ आजैका दिन निधन भएको थियो । 



प्रतिक्रिया दिनुहोस्