Logo

रामहरि खतिवडाको दाबी: बोलाउँदै नबोलाएको बैठकमा आएर गृहमन्त्रीले अगाडि बढेर बोल्नुभयो (भिडिओसहित)



काठमाडौं, १४ वैशाख । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आईजीपी र गृहसचिवलाई बोलाइएकोमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आत्तिएर बैठकमा सहभागी भएको दाबी गरेका छन् ।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समितिको बैठकमा गृहसचिव र आइजीपीलाई बोलाइएकोमा गृहमन्त्री लामिछानेले आईजीपी र पोखराका एसपी साथमा लिएर सहभागी भएको बताएका हुन् । उनले बैठकमा छलफलका लागि निर्धारण नै नगरिएको विषयमा गृहमन्त्री लामिछाने प्रवेश गरेर आफ्नो बचाउ गरेको दाबी गरे । यसरी गृहमन्त्री आत्तिएर छलफलका लागि निर्धारण नै नभएको विषयमा प्रवेश गर्नुले उनको कमजोरी छ भन्ने कुरा प्रष्ट भएको खतिवडाको भनाइ छ ।

‘आईजीपी र गृह सचिवलाई बोलाइएको थियो । उहाँ पदेन सदस्य हुनुहुन्थ्यो गृहमन्त्रालयको । उहाँलाई जवाफ दिन बोलाएको होईन । त्यस दिन गृहमन्त्रीज्यू आत्तिनु भएछ । सहकारी पीडितहरुको उजुरी राज्य व्यवस्था तथा सुशासन समितिमा परेको थियो । उहाँले यसैमा छलफल हुने हो भनेर आईजीपी र पोखराको एसपी लिएर आउनु भएछ ।’ उनले भने, ‘गृहमन्त्रीलाई सहकारी सम्बन्धी विषयमा बोल्न पनि बोलाइएको थिएन । उहाँ अगाडि बढेर बोलिदिनु भयो । कुनै विषयमा हामी प्रवेश नै गरेको छैनौं, त्यो विषयमा बोल्नु भनेको उहाँको केही छ भन्ने देखिन्छ ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणबारे छानबिन गर्न नेपाली कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयदेखि सडकदेखि सदनसम्म आवाज उठाउँदै आएको छ ।

खासमा सहकारी ठगी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरे पनि अन्तर्यमा भने गृहमन्त्री लामिछानेमाथि प्रहार गरेर सरकार ढाल्ने कांग्रेसको खेल रहेको सत्ता पक्षको दाबी छ । तर, कांग्रेसले भने सत्तासँग आफूहरुलाई सरोकार नभएको भन्दै छानबिन समितिको अडान कायमै राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot