Logo

फेल भएपछि शान्ताले भनिन्: बुढेसकालको पढाइ न पर्‍यो, केही छैन् लडेर फेरि उठ्छु



काठमाडौं । नेकपा एमालेकी नेतृ तथा पूर्व सांसद शान्ता चौधरी स्नातक तहमा अध्ययनरत छिन् ।

लामो समयसम्म कमलरी जीवन बिताएकी चौधरीले उमेर ढल्किएपछि पढ्न सुरु गरेकी हुन् । हाल उनी काठमाडौंको कोटेश्वरस्थित हिमालय कलेजमा आर्ट्स विषय लिएर स्नातक तहमा अध्ययनरत छिन् ।

स्नातक तहमा पढिरहेकी पूर्वसांसद चौधरी स्नातक तहको पहिलो वर्षको परीक्षामा फेल भएकी छिन्। सामाजिक सञ्जालबाट आफैँले फेल भएको जानकारी दिएकी हुन्।

उनका अनुसार अंग्रेजी र ग्रामिण विकास (आरडी) विषय लागेको छ । तर,उनले अझै हरेस नखाएको बताएकी छिन्।

उनले भनेका छिन्,‘लौ जा योपटक चाहिँ ब्याचलर फर्स्ट इयरमै फेल भइयो है,बुढेसकालको पढाइ न पर्‍यो, केही छैन लडेर फेरि उठ्ने छु, यसरी नै हिम्मत गरेर अगाडि बढनु हुन अनुरोध गरे मैले मसँग फेल हुने मेरा प्यारा साथीहरूलाई, बधाई तथा शुभकामना छ पास हुने मेरा सम्पूर्ण साथीहरूलाई,अंग्रेजी र आरडी यो दुई वटा विषयले दिमाग खराब गर्‍यो।’

चौधरी ०७० र ७४ सालको संसद्मा समानुपातिक सांसद बनेकी थिईन् । उनी एमाले संसदीय दलको पूर्व सचेतकसमेत हुन् । उनले कमलरीदेखि सभाषदसम्म नामक आत्माकथासमेत लेखेकी छन् ।



प्रतिक्रिया दिनुहोस्