काठमाडौं, १४ वैशाख । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले २०७४ को निर्वाचनमा पाएको मतको कारण नेताहरुमा घमण्ड सवार हुँदा ०७९ को निर्वाचनमा क्षति व्यहोर्नु परेको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०७४ मा कम्युनिष्ट पार्टीले पाएको मत सदुपयोग हुन नसकेको बताएका हुन् ।
नेकपा (एमाले) का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने, ‘२०७४ सालमा जनताले हामीलाई झण्डै दुई तिहाई बहुमत उपलब्ध गराए । त्यसलाई सदुपयोग गर्न सकेको भए २०७९ को सालमा हामीलाई सजिलो हुन्थ्यो । त्यो बेलामा हामीले शक्तिको सदुपयोग गर्नुपर्थ्यो, त्यो हुन सकेन । नेताहरुको दिमागमा घमण्ड सवार भयो ।’
साथै, जर्मनका क्रुर शासक हिटलर पनि घमण्डकै कारण सकिएको उनको दाबी छ । उनले जनताले दिएको शक्तिलाई सदुपयोग गर्न सक्नुपर्ने बताए ।
आफूले सरकारको नेतृत्व गर्दा २५ वटा पार्टीलाई सम्हालेर २१ महिना प्रधानमन्त्री बनेको उनले स्मरण गराए । संसद्का १२ दल मध्ये छ वटा पार्टी सरकारमा रहेको उनले बताए । छ वटै पार्टीलाई समान ढंगले मिलाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले कुनै एउटा पार्टी बाहिरिँदा सरकार भूँईमै पछारिने स्थिति रहेको बताउँदै उनले कसैले पनि घमण्ड गर्न नहुने बताए । ‘कुनै एउटा पार्टी अलग हुनेबित्तिकै सरकार भूइँमै पछारिन्छ । यो कुरा पनि हेक्का राख्नुपर्छ । कोही पनि घमण्डी नहुन्,’– उनले भने ।
साथै, कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढ्न नसकिने उनको भनाइ छ । उनले कांग्रेसलाई शत्रु ठान्नु आफ्नै पार्टीलाई खत्तम पार्नु रहेको बताए । ‘कसै–कसैले कांग्रेसलाई शुत्रु भन्छन् । यो पार्टीको हितमा होईन, पार्टीलाई खत्तम पार्ने बाहेक केही पनि गर्दैन,’– उनले भने ।
नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अरु कसैमा नरहेको उनको भनाइ छ । कम्युनिष्टहरु यथास्थितिमा नभएर परिवर्तनमा रमाउनुपर्ने उनको भनाइ छ । सत्तामा बस्नेहरुले शक्तिमा मात्तिन नहुने र सत्तामा पुगेपछि विनम्र हुनुपर्ने बताए । मात्तिएको खण्डमा क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ ।