Logo

६ बुँदे मागसहित अर्थ र उर्जामन्त्री भेट्न कर्णालीका मुख्यमन्त्री कँडेल सिंहदरबारमा



काठमाडौं,१४ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ६ बुँदे माग लिएर काठमाडौं आइपुगेका छन् । उनले शुक्रबार अर्थमन्त्री वर्षमान पुन र उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर ६ बुँदे माग राखेका छन् ।

कर्णाली प्रदेशका महत्वपूर्ण र रणनीतिक आयोजनाहरू कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर (सुर्खेत चार लेन सडक, सुर्खेत विमानस्थल विस्तार, भुकम्प प्रभावित जाजरकोट र रूकुममा पुनर्निर्माण तथा सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानबाट रोक्न निकास खोला नियन्त्रण लगायतका आयोजनाहरूलाई विशेष प्राथमिकतामा राखी आगामी बर्षको लागी आवश्यक संरचनासहितको वजेट विनियोजन गर्न माग गर्दै २ मन्त्रीको ध्यानाकर्षणका लागि आफू काठमाडौं आएको कँडेलले जानकारी दिए ।

२७ चैतमा कँडेल कर्णालीको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले बिहीबारमात्र प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।

कर्णाली प्रदेश सरकारको तर्फबाट प्राथमिकताका साथ उठाइएका आयोजनाहरू यस्ता छन् :

१) कर्णाली प्रदेशको विकास तथा देशकै समुन्नतिको लागि रणनीतिक महतत्त्व राख्ने रुपान्तरणकारी आयोजनाको रुपमा रहेको कर्णाली करिडोर (सुर्खेत-हुम्ला) र भेरी करिडोर (सुर्खेत-डोल्पा)लाई राष्ट्रिय गौरवको आयोजना अन्तर्गत विशेष प्राथमिकतामा राखि छुट्टै संरचनासहित आयोजना कार्यालय स्थापना र आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरी उपयुक्त आयोजनाहरु यथासमयमा कार्यान्वयन तथा सम्पन्न गर्ने व्यवस्था गरिदिनु हुन।

२) नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको र कर्णाली प्रदेशको राजधानी जोड्ने प्रदेश प्रवेशद्वारका रुपमा रहेको कोहलपुरदेखि सुर्खेतसम्मको रत्न राजमार्गलाई चार लेनको बनाउने योजना कार्यान्ववयनमा नगएकाले आवश्यक बजेटसहित कार्यान्वयनको व्यवस्था गर्न हुन।

३) नेपाल सरकारको विगतका वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको तथा हालसम्म कार्यान्वयनमा जान नसकेको कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नति गरी संघीय राजधानीसँग कर्णाली प्रदेशको हवाइ पहुँच र आन्तरिक उडानको केन्द्रका रुपमा विकास गर्न आवश्यक बजेटसहित कार्यान्वयनको व्यवस्था गरिदिनु हुन।

४) भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा नीजि आवास तथा अन्य संरचनाहरू पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न।

५) कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र बाढीबाट वर्षेनी प्रभावित हुने भएकाले दीर्घकालीन समस्या समाधानका लागि निकासखोला नियन्त्रण आयोजनाको डीपीआरसमेत भइसकेकाले प्राथमिकता राखी बजेटसहित कार्यान्वयनको व्यवस्था गर्न हुन।

६) यी लगायत कर्णाली प्रदेशमा संघीय सरकारको तर्फबाट सञ्चालित विकास आयोजनाहरूलाई निरन्तरता दिई बजेटको व्यवस्था गर्न।



प्रतिक्रिया दिनुहोस्

Screenshot