Logo

एमालेसँग सहकार्यका लागि कांग्रेस सक्रिय, ओली-कोइरालाको निरन्तर भेटवार्ता



काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेसहितको बलियो सरकार बनाउनका लागि निरन्तर भेटवार्ता र छलफल भइरहेको बताएका हुन् ।

‘उहाँ (ओली) एमालेको नेता हो । हामीहरुले बीच–बीचमा भेटिराखेका हुन्छौं । कुराकानी भइराखेको हुन्छ । अब फेरि भेट्छु् । देशको जुन परिस्थिति छ, राजनीतिक स्थायित्व दिनका निम्ति, आर्थिक विकास गर्नेका निम्ति र सुशासनका लागि नेपाली कांग्रेस र एमाले दुईटा ठूला दल मिल्न जरुरी भयो ।’ उनले भने, ‘मिश्रित निर्वाचन प्रणालीले कसैको पनि बहुमत नआउने भयो । संविधानमा केही सुधार गरेर हामी अगाडि जान सक्छौं भन्ने लागेर कांग्रेस र एमाले एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

साथै, उनले कांग्रेस संसदीय दलको नेताबाट शेरबहादुर देउवा हट्नेसमेत दाबी गरे । परिस्थितिले देउवालाई संसदीय दलको नेतामा रहन नदिने दिन चाँडै आउने उनको भनाइ छ । एमाले–कांग्रेसको सरकार नबनेसम्म मुलुकमा राजनीतिक स्थायित्व हुँदैन भन्ने कुरामा एमाले अध्यक्ष केपी शर्मा ओली सहमत रहेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot