Logo

स्मार्ट लाइसेन्स घोटालामा यातायातका इन्जिनियर हरिश भट्ट सिआईबीको नियन्त्रणमा



काठमाडौं, १५ वैशाख । स्मार्ट लाइसेन्स घोटाला प्रकरणमा यातायात व्यवस्था विभागका करारका इन्जिनियर हरिश भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । सीआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार इन्जिनियर भट्टलाई नियन्त्रणमा लिएको हो ।

फर्जी कागजात पेस गरेर फास्ट ट्रयाकबाट लाइसेन्स प्रिन्ट गरेको तथ्य फेला परेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले इन्जिनियर भट्टको करार अवधि थप गरेका थिएनन् । करार अवधि थप नगरेपनि उनी नियमित विभाग आएर लाइसेन्स छपाईको नाममा सक्रिय रहेका थिए । पछिल्लो समय भने इन्जिनियर भट्टलाई काम गर्न रोक लगाउने विभागलाई निर्देशन दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

इन्जिनियर भट्टको करार अवधि थप्न अख्तियारबाट समेत केही कर्मचारीमार्फत दबाव आएको मन्त्रालय स्रोतले बतायो । २०७१ सालमै लाइसेन्स घोटालामा भ्रष्टाचार मुद्दा लागेका इन्जिनियर भट्टको करार अवधि थप्न अख्तियारबाट दबाव आउनु आश्चर्यको विषय भएको भौतिक मन्त्रालयका उच्च अधिकारी सुनाउँछन् । उनै भट्ट अहिले सिआईबीको नियन्त्रणमा पुगेका छन् ।

विशेष अदालतबाट मुद्दा जितेर इन्जिनियर भट्टले फेरि यातायातमा त्यही धन्दा जारी राखेको पाइएको छ ।भट्टको करार अवधि थप गराउन चौतर्फी दवाब आएको समेत बताइएको छ । सीआईबीले भट्टलाई नियन्त्रणमा लिएपछि ‘कोर्स’ परिवर्तन भएको छ । नक्कली लाइसेन्स धन्दाका थप रहस्यहरु बाहिरने सम्भावन देखिन्छ ।

नक्कली लाइसेन्स प्रकरणमा जोडिएको गिरोहले भट्टको विषयमा मात्र होर्इन कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गराएको छ । नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटमा जोडिएको गिरोहले अर्याललाई अख्तियार सरुवा गराएको चर्चा छ । सीआईबीको नियन्त्रणमा पुगेका भट्टसँग घनिष्ठ सम्बन्ध भएका अर्याल अख्तियार र भानु जोशी प्राकृतिक स्रोत तथा वित्त आयोग पुगेका छन् । उनीहरुको हकमा सिआईबीले के गर्छ हेर्न बाँकी छ ।

नक्कली लाइसेन्स प्रकरणमा जोडिएका लक्ष्मण पाण्डे, केशव पाण्डेलगायतको समूह अहिले निकै सक्रिय बनेको छ । मान्छे मारेर जेलमा रहेका व्यक्तिलाई नक्कली लाइसेन्स दिएर उक्त गिरोहले छुटाएको आरोप लाग्दै आएको छ । लाइसेन्स प्रिन्ट गरेर दिने भट्ट सिआईबीको नियन्त्रणमा आएलगत्तै गिरोहका सदस्यहरुको भागाभाग भएको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot