काठमाडौं, १५ वैशाख । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित १०औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्समा प्रदीप खड्का र अभिलाषा विष्ट च्याम्पियन बनेका छन् । डिफेन्डिङ च्याम्पियनद्वय प्रदीपले पुरुष तथा अभिलाषाले महिलामा उपाधि रक्षा गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई सीधा सेटमा ६–० र ६–१ ले हरार्इन् । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ५० हजार तथा दोस्रोले २५ हजार नगद पुरस्कार पाए । शुक्रबार अभिलाषाले मिक्स डबल्समा पनि ऋतिक राणासँग मिलेर स्वर्ण जितेकी थिर्इन् ।
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । भेट्रानमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र विमलकुमार गुरुङले दोहोरो स्वर्ण जिते । जितेन्द्रले ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्स तथा विमलले ५५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण हात पारे । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा तथा डबल्समा विदुर विष्ट र धीरबहादुर गुरुङ पहिलो भए । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा क्रमशः कमलबहादुर भण्डारी तथा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले उपाधि चुमे ।
विजेतालाई सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डे, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक संघका अध्यक्षसमेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुललगायतले कार्यक्रमबीच पुरस्कृत गरे । अध्यक्ष पाण्डेले राम्रो व्यवस्थापन गरी प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आगामी संस्करणदेखि प्रायोजन रकममा वृद्धि गर्ने प्रतिबद्धता जनाए ।