Logo

बझाङमा मतगणना सुरू



काठमाडौं,१६ वैशाख । शनिबार भएको बझाङ प्रदेश सभा (क) को उपनिर्वाचनअन्तर्गत भएको मतदानको मतगणना सुरु भएको छ ।

बझाङ जिल्ला अदालतको परिसरमा मतगणना सुरु भएको हो । बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेपछि मतगणना सुरु गर्ने सहमति गरेको थियो ।

उच्च हिमाली क्षेत्रका मतपेटिका आइतबार हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुर ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको हो ।

बझाङ १(१) मा ४९ प्रतिशत मत खसेको थियो। यस क्षेत्रमा ७४ वटा मतदानस्थल र ९३ मतदान केन्द्र छन् भने ६१ हजार ७४८ मतदाता छन्।

नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त यस क्षेत्रमा उपनिर्वाचन भएको हो।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह र नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा मैदानमा छन्।

यस्तै राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टी (जसपा) का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट किशोरकुमार खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्का र जनमत पार्टीका सुशीला देवी विष्ट उम्मेदवार छन्।

बझाङमा उम्मेदवार ११ जना भएपनि मुख्यगरि नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot